पहिलो वर्षमै लय समातेको ‘मानशा सहकारी’

प्रथम साधारणसभा सम्पन्न

पोखरा । पोखरा वडा नं. १७, २१ र २२ कार्यक्षेत्र तोकी सेवा शुभारम्भ गरेको मानशा बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको पहिलो वर्षमै लय समातेको छ । पोखरा १७ बिरौटा, हिमालीटोलीमा कार्यालय रहेको सहकारीले अब कार्यक्षेत्र विस्तार गरी ६ वडा बनाउने लक्ष्य राखेको छ ।

त्यस्तै, ९१ लाख सेयर पुँजी बढाई २ करोड पुर्‍याउने लक्ष्य पनि राखेको छ । सहकारीको प्रथम वार्षिक साधारणसभाको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्दप्रसाद देवकोटाले कुल निक्षेपमा वृद्धि गरी ३ करोड २० लाख पुर्‍याउने र ऋण रकम पनि ४ करोड ६० लाख पुर्‍याउने लक्ष्य राखिएको बताए । हाल एक सय सात जना सेयर सदस्य संख्या रहेकोमा यसलाई वृद्धि गरी चालु आर्थिक वर्षमा २ सय पुर्‍याउने लक्ष्य रहेको उनले सुनाए ।

‘अघिल्लो आर्थिक वर्षमा ६ महिनामात्र सेवा सञ्चालन भयो । तर अब संस्थामा बचत, ऋणलगायत विभिन्न गतिविधिमा उत्कृष्ट योगदान पु¥याउने सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ । अध्यक्ष देवकोटाले भने, ‘रेमिटेन्स सेवा तत्काल सुरु गरिने, मानशा कल्याणकारी कोष स्थापना गरी सेयर सदस्यहरुका सामाजिक तथा आर्थिक हितका कार्यक्रम संचालन गर्ने, टपरी उद्योग चलाउने, कृषि तथा पशुपालनलाई परियोजनामार्फत् अघि बढाउने हाम्रो योजना छ ।’

कार्यक्रमका प्रमुख अतिथि पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले वडामा कार्यक्षेत्र बनाएका दर्जन जति बहुउद्देश्यीय सहकारी रहेकाले यी सबै सहकारीको प्रतिनिधित्व हुने गरी समिति बनाएर वडाबासीको हितमा विभिन्न उत्पादनमूलक कार्यक्रम अघि बढाउन अनुरोध गरिन् ।

‘कृषि उत्पादन तथा संकलन केन्द्र, महिलाको उद्यमशीलता, दुग्ध संकलन केन्द्र सञ्चालन, बजारीकरण गर्न सहकारीहरु अग्रसर भएमा स्थानिय सरकारले सहयोग गर्नेछ । बहुउद्देश्यीय सहकारीहरुले स्थानिय क्षेत्रमा केही गर्न र समृद्धिको यात्रामा सँगै अघि बढ्न सकोस् भन्ने आग्रह गर्दछु । हाम्रो सहयोग हुनेछ’ अध्यक्ष योगीले भनिन् ।

त्यस्तै, पोखरा महानगरपालिका सहकारी विभागका रजिष्ट्रार भरतराज पौडेलले सहकारी अभियानमा चुनौति थपिएको भन्दै सहकारी सञ्चालकहरुले गम्भीर भएर संस्था चलाउन आग्रह गरे ।

सहकारीका अध्यक्ष गोविन्दप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिका ४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा, पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य रामप्रसाद कँडेल, मयुर बहुउद्देश्यीय सहकारीका अध्यक्ष मिनराज खड्का, कोअपरेटिभ म्यानेजर्स क्लबका सचिव मोहनप्रसाद अधिकारीलगायतले संस्थालाई शुभकामना दिएका थिए ।

कार्यक्रममा कोषाध्यक्ष सञ्जय पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक विशाल सुवेदीले लेखासमितिको प्रतिवेदनलाई बन्दसत्रमा पारित गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रकाश सुवेदीले गरेका थिए ।

lcci
You might also like

Comments are closed.