टीएभीआई प्रविधिमार्फत मणिपालमा एओर्टीक भल्वको सफल प्रत्यारोपण

पोखरा । मुटुसम्बन्धी जटिल समस्या देखिए पछि ८६ वर्षीय कालिदास तिमिल्सिना पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना भए । उनमा मुटुको मुख्य पाइपमा भएको भल्व साँघुरो वा सुकेकाले मुटुका नसाले राम्रोसँग ब्लड नपाएपछि समस्या देखियो । चिकित्सकले समस्या समाधानको लागि विकल्प सोचे– ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’(टीएभीआई)मार्फत उपचार । अन्ततः टिएभीआईमार्फत कालिदासको उपचार सफल भयो । उनी ४ दिनपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

वरिष्ठ कार्डीयोलोजिस्ट डा. अमितकुमार चौरासिया, डा. नवराज पौडेल लगायतको टोलीले कालिदासको एओर्टीक भल्वको सफल प्रत्यारोपण गरेका थिए । चिकित्सकको टोलीले मुटुमा झण्डै १ घण्टा ३० मिनेट लगाएर सफल टीएभीआई गरेका थिए । मुटुको मुख्य पाइपमा भएको भल्व साँघुरो वा सुकेकाले मुटुका नसाहरुले राम्रोसँग ब्लड नपाएपछि समस्या देखिएकाले सो प्रविधिबाट उपचार गरिएको डा.चौरासियाले बताए ।

शल्यकृयामा सहभागी डा. पौडेलले बिरामीको स्वास्थ्य सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताए । उनले मणिपालले पहिलो पटक टीएभीआईमार्फत गर्न पाएको र सो उपचार सफल भएको उनले बताए । उनले भने,‘उपचार सफल भएकोमा हामी खुशी छौं । हामीलाई विश्वास गरेर उपचार गरिदिनु भएकोमा बिरामी र बिरामीका आफन्तलाई धन्यवाद छ ।’ उनले भविष्यमापनि यस्ता खालका उपचार गर्न अस्पताल र चिकित्सक टोली सेवा दिन तत्पर रहेको भन्दै त्यसका लागि सम्झिदिन आग्रह गरे ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले अब मुटुको उपचारका लागि काठमाडौं वा विदेश भौतारिरहनु नपर्ने बताए । उनले भने, ‘पहिले पहिले यस्तो उपचारका लागि भारतलगायतका ठाउँमा जानुपथ्र्यो तर अब पर्दैन, यही पोखराको मणिपाल अस्पतालमै सम्भव भएको छ ।’ पोखरा आसपासका लागि यो सुखद खबर भएकाले आगामी दिनमा यसको भरपूर उपयोग गर्न उनले आग्रह गरे ।

उपचारपछि डिस्चार्ज भएका बिरामी कालिदासले पोखरामै उच्चस्तरको गुणस्तरीय सेवा पाएर आफूले पुनर्जन्म पाएको भन्दै अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिए । बिरामीका छोरा डा. विश्वदीप तिमिल्सिनाले मणिपालको सेवाबाट आफूहरू सन्तुष्ट रहेको बताए । ‘भल्वले काम गरेको महसुस गरेका छौं, डाक्टरहरूलाई विश्वास गरेर उपचार गरिएको र यसले सफलता पाउँदा हामी खुशी र सन्तुष्ट छौं ।,’ उनले भने । उनी मणिपालमै कार्यरत सर्जन हुन् ।

उपचार प्रविधिले फड्को मार्ने क्रममा टीएभीआई मार्फत उपचार आएको डा.अमितकुमार चौरसियाले बताए । उनले भने,‘पहिलो पहिले छाती खोलेर मुटुको शल्यक्रिया गरिन्थ्यो । पछि यो प्रक्रिया शुरू भएको हो, अहिले छाती नखोली खुट्टाबाटै रिप्लेसपेन्ट हुन्छ । भेन्टिलेटरमा पनि राख्नु पर्दैन ।’ उनका अनुसार काठमाडौं बाहिर पहिलोपटक टीएभीआईमार्फत उपचार भएको हो । मणिपाल शिक्षण अस्पालका निर्देशक डा.अभिषेक मास्केले मोफसलमा पहिलोपटक यस प्रकृतिको सफल उपचार हुनु पोखरा मात्रै नभई सम्पूर्ण प्रदेशवासीका लागि सुखद खबर भएको बताए ।

You might also like

Comments are closed.