माथिल्लो मर्स्याङ्दी ‘ए’ बाट ३ अर्ब युनिट विद्युत उत्पादन

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा सञ्चालित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत आयोजनाले ३ अर्ब युनिटभन्दा बढी विद्युत उत्पादन गरेको छ । शुक्रबार साँझसम्ममा ३ अर्ब युनिट (किलोवाट(घण्टा) विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरेको आयोजनाले जनाएको छ ।

चीनको बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोपावर कम्पनीको ९० र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानीमा सन् २०१३ बाट निर्माण थालिएको आयोजनाबाट सन् २०१६ को सेप्टेम्बरमा विद्युत उत्पादन भएको थियो । व्यावसायिक उत्पादन भने सन् २०१७ जनवरी १ गरिएको थियो ।

आयोजनाको उत्पादन प्रविधि विभाग प्रमुख तोङ चियाङ्पोले ३ अर्ब किलोवाट आवर विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए । वार्षिक ३ करोड ३५ लाख किलोवाट आवरको विद्युत उत्पादनको अपेक्षाभन्दा माथि उठेर आयोजनाले ३ करोड ७३ लाख किलोवाट आवर विद्युत उत्पादन गरेको उनले बताए। यस आयोजनाबाट नेपालको ऊर्जा क्षेत्रमा राम्रो योगदान दिएको उनले बताए ।

रन–अफ–रिभर प्रकारको यो आयोजनाले सन् २०२४ मा ३७ करोड ४० लाख युनिट विद्युत उत्पादन गरी वार्षिक उत्पादन योजनाको १०७ प्रतिशत लक्ष्य पुरा गरेको आयोजनाले जनाएको छ । त्यसमध्ये ३७ करोड २० लाख युनिट राष्ट्रिय ग्रिडमा आपूर्ति गर्दै वार्षिक सम्झौता उत्पादनको ११७.१ प्रतिशत उपलब्धि हासिल भएको आयोजनाको दाबी छ ।

आयोजनाबाट उत्पादित विद्युत काठमाडौं र पोखरा लगायतका क्षेत्रमा पठाइँदै आएको छ । जसले विशेषगरी सुख्खा मौसममा देखिने विद्युत अभाव न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । आयोजनाले पछिल्लो ८ वर्षमा सुरक्षा तथा उत्पादनका दृष्टिले निकै सबल कार्य सम्पन्नता देखाएको आयोजनाका दोभासे दयाराम दहालले बताए ।

नेपाल विद्युत प्राधिकरणसँग २०५२ सालमा अमेरिकी डलर प्रति युनिट लागत ७ सेन्ट (७ रुपियाँ) मा खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । आयोजना निर्माणका लागि करिब १६ अर्ब रुपियाँ लागेको निर्माण पक्षले जनाएको छ । आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि २० किलोमिटर लामो १ सय ५ केभी प्रसारण लाइन आफै निर्माण गरेको थियो ।

आयोजनाले स्थानीय स्तरमा विकास निर्माणमा सहयोग गर्दै आएको छ । आयोजनाले स्थानीयले प्रयोग गर्न मिल्ने गरी ३ सय ४० मिटर लामो सुरुङ मार्ग, मर्स्याङ्दी नदीमा बेलिव्रिज, विभिन्न स्थानमा सडक आदि विकास निर्माण गरेको छ । सुरुङ मार्गले स्थानीयलाई आवतजावत गर्न मात्र हैन, पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

You might also like

Comments are closed.