तनहुँ मासुमा आत्मनिर्भर

तनहुँ ।  जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ ।

गत वर्षका तुलनामा यस वर्ष ११९ मेट्रिक टन बढी मासु उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । वार्षिक चार हजार ५२६ दशमलव ३८ मेट्रिक टन आवश्यक पर्ने जिल्ला उत्पादन वृद्धि भएपछि मासुमा आत्मनिर्भर बनेको छ । दूध र अण्डामा आत्मनिर्भर बनेर अन्य जिल्लामा निर्यात गर्न थालेको तनहुँ पछिल्लो समय मासुमा समेत आत्मनिर्भर बनी निर्यातसमेत गर्न थालेको छ । कृषकको आकर्षण माछामासु र पशुपक्षीपालनतर्पm बढेसँगै माछामासुमा जिल्ला सक्षम बन्न सकेको छ ।

केही समय पहिलासम्म माग पूरा गर्न नसक्दा व्यवसायीले छिमेकी राष्ट्रबाट खसीबोका ल्याउने गरे पनि अहिले उत्पादन बढेपछि आयात प्रायःशून्य भएको केन्द्रका सूचना अधिकारी डा शर्मिला कुमालले बताइन् । विदेश गएर फर्किएका युवा, सेवा निवृत्त सुरक्षाकर्मी तथा शिक्षक एवं कर्मचारीको पनि पशुपालनमा रुचि बढ्न थालेपछि मासु उत्पादनमा वृद्धि हुँदै गएको छ । कोभिड–१९ का कारण सरकारले केही महिना यत्रतत्र हिँड्डुल गर्न प्रतिबन्ध लगाएपछि फुर्सदका समयमा कतिपय मानिसले पशुपालन र तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

नश्ल सुधार गरी उन्नत पशुपालनलाई प्रोत्साहन, उन्नतजातको घाँस खेतीमा विस्तार, व्यावसायिक फार्मको विस्तार, सहकार्यमा अनुदान वितरण जस्ता कार्यक्रम सञ्चालनमा आएपछि पशुपालनतर्फ कृषकको आकर्षण बढेको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले बताए ।

पशुपालनमा व्यावसायिक कृषक बढेकाले खसी, बोका, राँगा खरीद गर्न सजिलो भएको दमौलीका मासु व्यवसायी बताउँछन् । गाउँबाट कृषकले बजारमा ल्याएर खसीबोका, कुखुरा, माछा,राँगोलगायत पशुपक्षी बिक्रीका लागि ल्याउन थालेपछि अन्य मुलुकको मुख ताक्न नपरेको झलक मासु पसलका सञ्चालक झलकबहादुर आले बताउछन् । “पहिला पहिला मासुका लागि गाउँगाउँ घुम्नुपथ्र्यो” उनले भने, “अहिले त बिक्रीका लागि बिक्रेता पसलपसलमा आउन थालेपछि सहज भएको छ ।” ]

मासु प्रतिव्यक्ति प्रतिवर्ष १३ किलो आवश्यक पर्छ । उत्पादन भने १४ दशमल ६२ किलो रहेको कार्यालय प्रमुख डा श्रेष्ठले बताए । तनहुँ मासुमा आत्मनिर्भर भइसकेकाले अब अन्य जिल्लामा निर्यात गर्ने उद्देश्यले पशुपालन कृषकलाई प्रोत्साहन गर्न समयसमयमा तालीम, गोष्ठी, अनुदानलगायत कार्य गरिँदै आएको उनले जानकारी दिए ।

You might also like

Comments are closed.