सिन्धुपाल्चोक । मेलम्ची बाढी प्रभावित हेलम्बुवासीले यथाशीघ्र सुरक्षित स्थानमा बास र आयआर्जनको कार्यक्रमको माग गरेका छन् । हेलम्बु बाढीपीडित संरक्षण तथा समन्वय समितिद्वारा चिलाउनेघारीमा आयोजित सरोकारवालाबीचको अन्तक्र्रियामा उनीहरुले यस्तो माग गरेका हुन् । बाढी प्रभावितमध्ये केहीको घर बनाउन जग्गासमेत नभएकाले जग्गा र स्थायी वा अस्थायी घर र आयआर्जनको कार्यक्रमको समेत माग गरेका छन् ।
हेलम्बु चनौटेका बुद्धराम तामाङले पाँच लाखमा घर बनाउन नसकिने जनाउँदै रकम थप गर्न सरकारसँग आग्रह गरे । त्यस्तै इचोक घर भई गणेशबगरमा बसेकि रामप्रित लामाले आफ्नो भएजति सबै सम्पत्ती बाढीले बगाएको भन्दै स्थानीय सरकारले चासो दिए पनि प्रदेश र केन्द्र सरकारले चासो कम दिएको गुनासो गरिन् ।
उनले आफूहरु मेलम्चीको पानी काठमाडाैं पठाउन सदैव तयार रहेको र मेलम्ची खानेपानीले पनि सरकारसँग समन्वय गरी बाढीपीडितको चित्त बुझाउनुपर्ने बताइन् । त्यस्तै स्थानीय शिक्षक भीम कार्की, मेलम्ची भ्याली क्यामपसका अध्यक्ष दीपक लामिछाने, समाजसेवी शिवप्रसाद लामिछाने लगायतले बाढीपीडित राजनीतिक रुपमा विभाजित नभइ एकजुट भएर विद्यालय, बाकीँ रहेका घरखेत संरक्षण गर्न र स्थायी आवास पुनःनिमाणमा जुट्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ प्रशासन सहायक धर्मराज देवकोटाले खोला नियन्त्रणका लागि अल्पकालीन रुपमा ३० करोड रूपैयाँ र सडकको लागि २५ करोड बजेट विनियोजन भइसकेको भन्दै यथाशीघ्र सम्झौता गरी बाकीँ बस्ती संरक्षण र बाटोको काम सुरु गर्न हेलम्बु गाउँपालिकालाई अनुरोध गरे ।
उनले वैकल्पिक बाटोको लागि पनि थप बजेट विनियोजन भएको जनाउँदै मेलम्ची अम्बाथान सडकको लागि ७५ करोड रूपैयाँ प्रस्ताव पेश गरिएको पनि जानकारी दिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बाढी प्रभावितले पाँच लाखले घर निर्माण गर्न सम्भव नभएको जनाउँदै रकम थप गर्न आग्रह गरे ।
मेलम्ची बाढीबाट हेलम्बु गाउँपालिकाको मात्रै ३ सय ८ घरधुरी लाभग्राही कायम भएको ,चाँडैँ सम्झौता गरी पुनःनिर्माण सुरु गरिने र बाढी प्रभावित १ सय २५ घरधुरीको अस्थायी आवास निर्माण भएको उनले बताए ।
Comments are closed.