‘विद्यालयको सबै पक्ष अध्ययन गरि बच्चालाई भर्ना गरौं’

मीलन केसी, प्रिन्सिपल, पोखरा मन्टेश्वरी किन्डरहोम

हिन्दू धर्ममा सरस्वतीलाई विद्याकी देवी भनेर पूज्ने परम्परा छ । त्यसकारण पनि वसन्त पञ्चमीका दिन खासगरी नयाँ भर्ना हुने बालबालिकाहरुलाई विद्यालय भर्ना गरिन्छ । त्यही दिन अक्षर चिनाइन्छ । यस दिन बालबालिकालाई विद्यालय भर्ना गर्दा माता सरस्वतीको आर्शिवाद प्राप्त हुन्छ भन्ने विश्वास छ । यसकारण पनि नयाँ भर्ना हुने बालबालिकाहरुलाई सरस्वती पूजाका दिन भर्ना गराइन्छ । हुन त ज्ञान लिन कुनै दिन कुर्न पर्दैन जुन दिन जहिले दिँदा पनि हुन्छ ।

बालबालिकाको लागि दोस्रो घर हो विद्यालय । यसकारण पनि नयाँ कुराको सुरुवात गर्दा शुभ दिनमा गर्नु राम्रो भनेर नै यस दिन भर्ना गराइन्छ । अहिलेको समयमा पहिलो कुरा त अभिभावकहरु नै सचेत हुनुपर्छ । बालबालिकाहरुका लागि सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य, पोषण, सुरक्षा, रेस्पोन्सिभ केयर गिभिङ नै हो । बालबालिकाहरु भनेको सिक्नका लागि सिक्छन् । सिक्नका लागि पनि कसरी सिक्ने त्यो तरिकाहरु सिक्न बालबालिका विद्यालय जाने हो । जहाँ बालबालिका शारीरिक विकास, मानसिक विकास, भावनात्मक विकास, भाषाको विकास, सामाजिक विकास, सर्वाङ्गिण विकासका लागि जान्छन् ।

सबैभन्दा पहिला अभिभावकले मेरो बच्चा विद्यालय जान तयार छ त ? छ भने विद्यालय जाँदा अरुसँग घुलमिल गर्न सक्छन् कि सक्दैनन्, मेरो भावनात्मक रुपले कतिको विकास छ, दोहोरो कुरा गर्नु सक्छ कि सक्दैन यो सबै कुराहरु अभिभावकहरुले विद्यालय भर्ना गर्नु पूर्व घरमै सिकाउने कुराहरु हो । यो कुराहरुमा अभिभावकहरुले पहिले ख्याल गर्नु भएन भने पछि बालबालिकाहरु स्कूल गएर रुने, बस्न नसक्ने, के कुरा अभिव्यक्त गर्न नसक्ने जस्ता समस्याहरु आउँछन् । जसले उनीहरुको पढाइमा पछिसम्म पनि नकारात्मक असर पर्न सक्छ ।त्यसकारण स्कूल पठाउनु भन्दा पहिला अभिभावकहरुले पूर्व तयारी गर्न अति आवश्यक छ ।

त्यसपछि अभिभावकहरुले आफ्नो बच्चा भर्ना हुन लागेको स्कूलको वातावरण कस्तो छ, शिक्षक शिक्षिकाहरु बालबालिकाको सर्वाङ्गिण विकासका लागि कतिको संवेदनशील हुनुहुन्छ, उक्त स्कूलको भिजन के छ, मेरो बच्चा यो स्कूलबाट कसरी लाभान्वित हुन्छ, विद्यार्थीहरुका लागि कस्तो मौकाहरु प्रदान गरेको छ यो सबै कुराहरुमा गहिरो अध्ययन गरेर बल्ल विद्यालय भर्ना गर्नुपर्दछ । बालबालिकाहरुलाई बेटर लर्निङ अपरच्युनिटी प्रदान गर्न घर र विद्यालयको एकदमै राम्रो सहकार्य हुन जरुरी छ । हामीले सरस्वती पूजाको अवसरमा अक्षरारम्भ कार्यक्रम राखेका छौं । जसमा हामीले बालबालिकाहरुलाई उत्प्रेरणा प्रदान गर्नेछौं । कुराकानीमा आधारित :

lcci
You might also like

Comments are closed.