काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)का कोषाध्यक्ष मीलनबाबु मल्ल सम्मानित भएका छन् । कुमारीपाटी जावलाखेल व्यापार संघले मल्ललाई सम्मान गरेको हो ।
मल्ल उक्त संघका कार्यसमिति सदस्य हुन् । नाडाको निर्वाचनबाट कोषाध्यक्ष भएका मल्ललाई संघका अध्यक्ष पुष्परत्न शाक्यले हालै आयोजित एक कार्यक्रमबीच सम्मान गरे । संघको सम्मानप्रति मल्लले आभार व्यक्त गरेका छन् ।
को हुन् मल्ल ?
मिलनबाबु मल्ललाई सानै उमेरबाट आफ्नै व्यवसाय गर्ने रहर थियो । व्यवसाय गर्नु अगाडि जागिरबाट केही अनुभव संगाल्ने सोच बनाए । उनको सोचलाई यामाहाको नेपालको आधिकारिक बिक्रेता एमएडब्लुले पुरा गर्यो ।
२०४८ मा १ हजार २ सय रुपैयाँ मासिक तलब हुने गरी सेल्स असिस्टेन्टबाट उनले काम सुरु गरे । कामप्रतिको इमान्दारिता, लगनशीलता, सक्रियताबाट उनको तलब बढ्दै गयो, प्रमोसन पनि हुँदै गयो । केही वर्ष पछि एमएडब्लुको काठमाडौं अपरेसन हेर्न सुरु गरेका मल्लले १४ वर्षपछि भने जागिरमा पूर्णबिराम लगाए । २०६२ मा जागिर छोड्दा उनको तलब ६३ हजार थियो । मल्लले जागिर छोडे पनि एमएडब्लु र यामाहालाई भने छोड्न सकेनन् ।
मल्लले जागिरे जीवनबाट व्यावसायिक जीवनको शुरुवात गरे । उनलाई एमएडब्लुका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि साथ दिए । २०६२ मा काठमाडौंको कुमारीपाटीमा रिसिक अटोमोबाइल्स प्रा.लि.मार्फत यामाहाको शोरुम खोले । जुन शोरुममा मल्लसँगै विष्णुकुमार अग्रवालको पनि लगानी थियो । केही वर्षपछि अग्रवालले आफ्नो सेयर निकाले र मल्ललाई एकल स्वामित्वमा काम गर्न प्रोत्साहन गरे ।
उनले यामाहाको डिलर लिएर काम गरेको १५ वर्षभन्दा बढी भइसकेको छ । जुन यात्रा निरन्तर जारी छ । व्यवसायलाई अझ परिस्कृत, परिमार्जन र प्रविधिमैत्री बनाउँदै र लगानी विस्तार गर्दै मल्ल अगाडि बढिरहेका छन् । केही वर्षपछि रिकोल इन्भेष्टमेन्ट कम्पनी सुरु गरेका मल्लले २०७५ मा ग्वार्कोमा यामाहाको अर्को शोरुम खोले । त्यस्तै उनले बल्खुमा तेस्रो शोरुम खोलेका छन् ।
जुन नेपालकै उत्कृष्ट प्रविधि समावेश भएको सर्भिस सेन्टरसहितको शोरुम पनि हो । मल्लले बिगत ५ वर्षदेखि रिलायबल अर्थमुभर्स प्रा.लि.मार्फत स्वयम्भुमा हेभी इक्युपमेन्टको शोरुमसमेत सञ्चालनमा ल्याएका छन् । एमएडब्लुले आयात गर्ने यामाहा र हेभी इक्युपमेन्ट सबैभन्दा बढी बिक्री गर्ने डिलरमा उनी स्थापित भएका छन् । उनले अहिले सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् ।
मल्ल अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडामा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा समेत आबद्ध छन् । नाडाको बर्तमान कार्यसमितिमा उनी कोषाध्यक्ष छन् । यस अगाडि उनले नाडामा दुई कार्यकाल कार्यसमिति सदस्य भएर काम गरे । दुई कार्यकालमा उनले हेभी इक्युपमेन्ट समितिको सभापति भएरसमेत काम गरिसकेका छन् ।
Comments are closed.