काठमाडौं । मिलनबाबु मल्ललाई सानै उमेरबाट आफ्नै व्यवसाय गर्ने रहर थियो । व्यवसाय गर्नु अगाडि जागिरबाट केही अनुभव संगाल्ने सोच बनाए । उनको सोचलाई यामाहाको नेपालको आधिकारिक बिक्रेता एमएडब्लुले पुरा गर्यो । २०४८ मा १ हजार २ सय रुपैयाँ मासिक तलब हुने गरी सेल्स असिस्टेन्टबाट उनले काम सुरु गरे । कामप्रतिको इमान्दारिता, लगनशीलता, सक्रियताबाट उनको तलब बढ्दै गयो, प्रमोसन पनि हुँदै गयो । केही वर्ष पछि एमएडब्लुको काठमाडौं अपरेसन हेर्न सुरु गरेका मल्लले १४ वर्षपछि भने जागिरमा पूर्णबिराम लगाए । २०६२ मा जागिर छोड्दा उनको तलब ६३ हजार थियो । मल्लले जागिर छोडे पनि एमएडब्लु र यामाहालाई भने छोड्न सकेनन् ।
मल्लले जागिरे जीवनबाट व्यावसायिक जीवनको शुरुवात गरे । उनलाई एमएडब्लुका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि साथ दिए । २०६२ मा काठमाडौंको कुमारीपाटीमा रिसिक अटोमोबाइल्स प्रा.लि.मार्फत यामाहाको शोरुम खोले । जुन सोरुममा मल्लसँगै विष्णुकुमार अग्रवालको पनि लगानी थियो । केही वर्षपछि अग्रवालले आफ्नो सेयर निकाले र मल्ललाई एकल स्वामित्वमा काम गर्न प्रोत्साहन गरे । उनले यामाहाको डिलर लिएर काम गरेको १५ वर्ष भन्दा बढी भइसकेको छ । जुन यात्रा निरन्तर जारी छ । व्यवसायलाई अझ परिस्कृत, परिमार्जन र प्रविधिमैत्री बनाउँदै र लगानी विस्तार गर्दै मल्ल अगाडि बढिरहेका छन् ।
केही वर्षपछि रिकोल इन्भेष्टमेन्ट कम्पनी सुरु गरेका मल्लले २०७५ मा ग्वार्कोमा यामाहाको अर्को शोरुम खोले । हालैमात्र उनले बल्खुमा तेस्रो शोरुम खोलेका छन् । जुन नेपालकै उत्कृष्ट प्रविधि समावेश भएको सर्भिस सेन्टर सहितको शोरुम हो । मल्लले बिगत ५ वर्षदेखि रिलायबल अर्थमुभर्स प्रा.लि.मार्फत स्वयम्भुमा हेभी इक्युपमेन्टको शोरुमसमेत सञ्चालनमा ल्याएका छन् । एमएडब्लुले आयात गर्ने यामाहा र हेभी इक्युपमेन्ट सबैभन्दा बढी बिक्री गर्ने डिलरमा उनी स्थापित भएका छन् । उनले अहिले सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् ।
मल्ल अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडामा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा समेत आबद्ध छन् । उनले नाडामा अहिले दोस्रो कार्यकाल कार्यसमिति सदस्य भएर काम गरेका छन् । दुई कार्यकालमा उनले हेभी इक्युपमेन्ट समितिको सभापति भएर काम गरे । नाडामा यही मंसिर २२ र २३ गते ४५औं साधारणसभा तथा निर्वाचन हुँदैछ । नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा समेत मल्लले आफूलाई कार्यसमिति सदस्य पदमा प्रस्तुत गरेका छन् । २ वर्षसम्म कार्यसमितिमा रहेर योगदान पुर्याएका मल्ललाई आगामी कार्यकालको पदाधिकारीका रुपमा समेत हेरिएको छ । कार्यसमितिमा पदाधिकारी बन्नका लागि कार्यसमितिमा विजयी हुनैपर्ने बाध्यता उनलाई छ ।
नाडाको आसन्न निर्वाचनमा देशभर रहेका अटोमोबाइल्स व्यवसायीको मत प्राप्त गर्नेमा मल्ल विश्वस्त छन् । ‘मैले अटोमोबाइल क्षेत्रमा एसिस्टेन्ट लेबलका जागिर सुरु गर्दै आजको अवस्थासम्म आइपुगेको छु,’ मल्लले भने, ‘काम गर्दाको अनुभवदेखि व्यवसाय गर्दाको सम्पूर्ण अनुभव मसँग छ । सानादेखि ठूला सबै व्यवसायी र कामदारको पिरमर्का मैले बुझेको छु ।’
Comments are closed.