पोखरा । मिस तामाङ पोखराको तालिम शुरु भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे प्रतियोगिता अन्तर्गत सहभागीहरुलाई शनिबारबाट तालिम दिन शुरु गरिएको हो । २८५९ औं सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको यो सातौं संस्करण हो ।
तालिममा २० जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक राम लामाले बताए । युवाहरुलाई आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदाय प्रति प्रेम जगाउनका लागि कार्यक्रमलाई निरन्तरता दिइएको आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए ।
कार्यक्रमका प्रमुख अतिति तामाङ घेदुङका पूर्वअध्यक्ष धनप्रसाद तामाङले युवा पुस्ता मात्रै होइन अभिभावक पनि भाषा र संस्कार जोगाउन सचेत बन्नु पर्ने धारणा राखे । उनले जन्मदेखि मृत्युसम्म तामाङ समुदायको आफ्नै मौलिक संस्कार रहेको भन्दै यसबारे नयाँ पुस्ता जानकार हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ सिम्पानीका अध्यक्ष गंगा तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगरका अध्यक्ष रामबहादुर तामाङ (शिवु ब्लोन), मिस तामाङ पोखरा २०२२ का विजेता मान्सी तामाङ, रनरअप पेमा तामाङ, आरजे होल्डिङ रियल स्टेटका प्रबन्ध निर्देशक राजु केसी, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सन्जय मल्ललगायतले बोलेका थिए ।
पहिलो दिनको प्रशिक्षण नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदान गरेका थिए । ३५ दिनसम्म चल्ने प्रशिक्षणमा तामाङ जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक राम लामाले जानकारी दिए ।
प्रतियोगितामा पोखरा पुम्दीभुम्दीका मनिषा तामाङ, योगितामाया तामाङ, नारेश्वरकी निशा तामाङ, नदिपुरका खुसी बम्जन, कृतिका तामाङ, फुलबारीका सुप्रिया तामाङ, सेदीका रोश्मा तामाङ, जुना तामाङ, प्रिती तामाङ, लेकसाइडका आकृति ब्लोन, मियापाटनका रसिला तामाङ, रिठेपानीका रेनुका तामाङ, न्युरोडका विकिता तामाङ, लामागाउँका सुमित्रा तामाङ, बगालेटोलका लक्ष्मी तामाङ, अर्विना तामाङ, विजयपुरका विपना तामाङ र जिरोकिलोमिटरका जिना थि सहभागी छन् ।
Comments are closed.