प्रेम, विवाह र वैदेशिक अध्ययनमा केन्द्रित ‘मोचन’

काठमाडौं । अमेरिका पुगेको एक नेपाली जोडीबीच भयंकर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि पूरा गरेका विषयमा केन्द्रित एक उपन्यास अहिले बजारमा छ ।

हाल अमेरिका–नेपाल आउजाउ गरिरहने डा तुलसी आचार्यको ‘मोचन’ उपन्यास (फिनिक्स बुक, २०७८) को सारांश यति मात्र भए पनि यसले अमेरिकी जीवनबारे पनि केही बताएर पाठकलाई अर्कै महादेशमा लैजान्छ । लेखकले पछिल्ला घटनालाई अगाडि ल्याउने (फ्ल्यासब्याक) शैलीमा उपन्यासमा प्रथम पुरुष (उत्तम पुरुष) का रूपमा रहेर आफ्नो प्रेम, द्वन्द्व, वियोग, संयोग र शैक्षिक जिन्दगीको कथा बताएका छन् ।

तीस प्रतिशत आफ्नो जीवनका प्रसंग उपन्यासमा ल्याएका लेखकले भिन्न आर्थिक वर्गबीच हुन सक्ने द्वन्द्व र त्यसको परिणामलाई राम्ररी चित्रण गर्नाका साथै अमेरिकी जीवनलाई थोरै अंशमा भए पनि प्रस्तुत गरेका छन् ।

MANASLU

बिहापूर्व पहिले नै विद्यावारिधि गर्न गएको विद्यार्थीपछि नेपाल आएर बाबुआमाको रोजाइको केटी बिहे गर्छ र उतै हानिन्छ । पछि युवककी पत्नी पनि अमेरिका पुग्छिन् र दुवै अध्ययन र कामका बीच अमेरिकाको स्वतन्त्रता र स्वच्छन्दता भोग्छन् । काम गर्ने र त्यसबाट पैसा कमाएर कलेज पढ्ने पुरुषलाई पत्नीले हरबखत विलासिताका लागि जोड दिन्छिन्, खाना बनाउने–भाँडा माझ्ने काम पनि पति प्रायः एक्लै गर्न पुग्छ ।

“दुई दिनको जिन्दगी हो पैसा जोगाएर, प्याक प्याक भएर बाँच्नु छैन मलाई ”, पत्नी भन्थिन् । उनीहरूबीच पाठकले सोच्न नसक्नेसम्मको भयंकर झगडा चल्छ, पतिले आफूलाई शारीरिक आक्रमण गरेकामा पत्नी प्रहरीसमेत गुहार्न पुग्छिन् । पढाइ सकेपछि आफू नेपाल फर्कने र नातिनातिना खेलाउने बाबुआमाको चाहना दुवैलाई उनकी पत्नी मन पराउँदिनन् । लवाइ, खवाइ र विचार जस्ता विषयमा द्वन्द्वको पराकाष्ठा पुगेपछि ऊ आफूलाई राम्रो पति हुन नसकेको महसुस गर्दै अर्की पत्नीको खोजमा हुन्छ । कलेजमा पढ्ने र काम पनि गर्ने पहिलेकी पत्नी आश्माबाट खुशी, शान्ति र आत्मसम्मान पाउन वञ्चित पुरुष पाँच वर्षपछि बाध्य भएर अर्की युवतीसँग साइबर लभ हुँदै भौतिक उपस्थितिमै नेपाल आएर विवाह गर्न पुग्छ ।

जिम्मेवार र देशभक्त छोरा तथा पति बन्ने पुरुषको इच्छा र कसैको वैवाहिक जीवनमा जबर्जस्ती प्रवेश नगर्ने बरु पहिली पत्नीबाट बिल्कुल प्रेम नपाउने र आफूले पनि नगर्ने भए मात्र आफू विवाहित पुरुषसँग विवाह गर्ने पछिल्ली युवती अनामिकाको विचार देखाएर लेखकले दोस्री पत्नीको प्रवेशलाई स्वाभाविक बनाउने प्रयास गरेका छन् । पत्नीलाई छाडेर केही समय नेपाल आएको पात्रसँग पहिली पत्नीले हरबखत इमेलबाट वा तन्द्रामा पनि आफूसँग प्रेमको भीख मागिरहेकी हुन्छिन् भने उसको नवप्रेमिका अनमिकासँगको प्रेम र हिमचिम बढिरहेको हुन्छ । यस्ता अवस्थामा नयाँ प्रेमिकासँग बिहे गर्ने कुरा सोच्न नसक्ने स्थितिमा पुगेको पुरुषभित्र मच्चिएको हुन्डरीलाई पनि लेखकले स्वाभाविक ढङ्गले यथार्थ चित्रण गरेका छन् ।

उपन्यासमा मदन आश्रित हत्याको रहस्य, गोरखा भूकम्पका प्रभाव, भारतीय नाकाबन्दी, केही असन्तुष्टिमै गाडी जाम गर्ने र सवारी साधनमा ढुंगा हान्ने व्यवहार, पशुपतिनाथ, भक्तपुर, ओशो तपोवन आदि स्थान देखाएर हाम्रो तीर्थस्थल, इतिहास र प्रवृत्तिलाई उजागर गरेका छन् । ठाउँठाउँमा विभिन्न लेखक, दार्शनिक, कवि, गायकका भनाइ, गीत कविता तथा सिसिफस, फोनिक्स चरा, सतीदेवी, इन्द्रको आसन आदि जस्ता कतिपय ग्रीक र हिन्दू मिथक तथा गीताका श्लोक उद्धृत गरेर लेखकले आफूलाई अध्येता र बौद्धिक रूपमा चिनाउन पनि खोजेका छन् । पाठकलाई सम्बोधन गर्दै लेखिएको प्रायोगिक उपन्यासमा आफूभित्रको द्वन्द्व र उतारचढाव तथा ‘कष्ट तथा बाधाबन्धन आदिबाट छुट्ने काम’ देखाएर शीर्षकलाई सार्थकता दिने प्रयास गरिएको छ । विद्यावारिधि जस्तो उच्च शैक्षिक खुड्किलो सम्पन्न गरेर लेखकले अमेरिकामा गरिएको दुःख र संघर्षबाट ‘मोचन’ पाएका छन् । नेपाल-अमेरिका-नेपाल गर्दै प्राध्यापन–लेखनमा सरिक लेखकले नेपालमै स्कुल-कलेजमा अध्यापन गरेको पुरुष पात्रले अमेरिकामा कुचो लाउने, भाँडा माझ्ने आदि काम गरेको प्रसंग उपन्यासमा देखाएर विदेशमा विदेशीले गर्ने यथार्थ काम प्रस्तुत गर्ने हिम्मत गरेका छन् ।

बेहुलीले विवाहमण्डपमै मोबाइल फोन उठाएको तथा पत्नीले पतिलाई तल्लास्तरका शब्द प्रयोग र व्यवहार गरेको चाहिँ हाम्रो चलन र संस्कृतिसँग त्यति मेल खाँदैन । गरीब र दासताबाट मुक्त हुन नचाहँदा नै मानिस दरिद्र हुन्छ भन्ने अनामिकाको पूजापाठमा विश्वास गर्ने र ज्योतिषी देखाएर आफ्नो भाग्य जान्न चाहने व्यक्तित्वमा भने विरोधाभास देखिन्छ । आश्मा र अनामिकालाई गरेका सम्झनालगायत अन्य प्रसंगहरु अनेक पटक पुनरुक्ति भएका छन् ।

अनामिकासँग रिसाएर हिँडेको पुरुषको तपोवनमा उनैसँग भेट हुनामा नाटकीयता देखिन्छ । पारिजातको ‘शिरीषको फूल’ उपन्यास पढेपछि आफ्नो जिन्दगी निस्सार प्रेममा परेको सुयोगवीरसँग पटक पटक दाँजेको पुरुषले आखिर विनाछोडपत्र दोस्रो बिहे गरेरै छाड्छ जसलाई नेपाली कानुनी दृष्टिले ठीक ठहराउन भने सकिँदैन । वर्णविन्यास धेरै ठाउँमा गल्ती देखिन्छ । पुराणकै प्रसंग भए पनि ‘विश्वामित्र’का ठाउँमा ‘वशिष्ठ’ र ‘मेनका’का ठाउँमा ‘उर्वशी’ भएको छ ।एकै नाम कतै जेम्स सि-डोब्सन र कतै जेम्स सिडोक्सन भएको छ । नेपालकै मोरङ, झापातिर जन्मेहुर्केका लेखकले कतैकतै मात्र ‘थिएछन्’ जस्तो दार्जिलिङे नेपाली भाषा प्रयोग गर्दा स्वाभाविक लाग्दैन । एक विद्यार्थीको अमेरिका प्रवेश, उसको वैवाहिक जीवन, प्रेम, उतारचढाव, दुःख र संघर्ष तथा सफलताका कथा पढ्दापढ्दै उपन्यास सकिएको पाठकलाई पत्तै हुँदैन । यही नै यसको सफलता मान्न सकिन्छ ।

You might also like

Comments are closed.