१३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, २२ प्रतिशत बढी लाभांश दिन सक्ने

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १३३.९५ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ८९ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९७ करोड ६२ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २६ करोड ८८ लाखबाट घटेर २४ करोड ४३ लाख कायम भएको छ । विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो । कम्पनीको सञ्चालन मुनाफा पनि ५४ करोड ३० लाखबाट बढेर ८९ करोड २१ लाख पुगेको छ ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब ३५ करोड रहेको छ । कम्पनीको खुदनाफा र चुक्ता पुँजीलाई आधार मान्दा कम्पनीको लाभांश क्षमता २२ प्रतिशत भन्दा धेरै रहेको देखिन्छ ।

कम्पनीले मनाङको दूधखोलामा सीता हाइड्रोले प्रबर्दन गरेको ६५ मेगावाट क्षमताको आयोजनामा लगानी गर्ने गरि सम्झौता गरिसकेको छ ।सो आयोजनामा लगानी गर्नको लागि कम्पनीलाई नगद चाहिने भएकोले कम्पनीले लाभांशको रुपमा बोनस शेयर नै दिने आँकलन गरिएको छ । यस अघिका वर्षमा पनि कम्पनीले बोनस शेयरलाई नै जोड दिदै आएको थियो ।

सोही आयोजनामा लगानी गर्नको लागि कम्पनीले ५० प्रतिशत हकप्रद पनि निष्काशन गर्ने तयारी गरेको छ । जुन कम्पनीको यस अघिको साधारणसभाले पारित गरिसकेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११.८८ रुपैयाँबाट बढेर २४.१७ रुपैयाँ पुगेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ १४८.२० रुपैयाँबाट बढेर १५२.११ रुपैयाँ पुगेको छ ।

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् । कम्पनीले आयोजना निर्माणको लागि लिएको ऋण नियमित रुपमा तिरिरहेको उल्लेख गरेको छ ।

You might also like

Comments are closed.