काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । जसअनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४६.३ प्रतिशतले बढेको छ ।
दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५१ करोड २० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ थियो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७९ करोड ८१ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.५४ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ थियो । यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तरगत ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च १३ करोड ५९ लाखबाट घटेर १२ करोड ४० लाख कायम भएको छ । विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सो पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख पुगेको हो । कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुन बाँकी छ । यस अवधिमा कम्पनीको रिटेन अर्निंङ १ अर्ब २४ करोड रहेको छ ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति शेयर आम्दानी १९.६७ रुपैयाँ पुगेको छ । वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी भने ३९.३४ रुपैयाँ हुन आउंछ । कम्पनीको प्रति शेयर नेटवर्थ १४७ रुपैयाँ ६६ पैसा रहेको छ । माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् ।
कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो । माउण्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ । कम्पनीले हालै मात्र दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता पनि गरेको छ ।
कम्पनीले मनाङको दूधखोलामा सीता हाइड्रोले प्रबर्दन गरेको ६५ मेगावाट क्षमताको उक्त आयोजनामा लगानी गर्ने भएको हो । सोही आयोजनामा लगानी गर्न कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी पनि गरेको छ ।
Comments are closed.