काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लि.ले ‘कृषकसंग मुक्तिनाथ’ र ‘उपभोक्तासंग मुक्तिनाथ’ अभियान सञ्चालन गरिरहेको छ । कम्पनीले ५ वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ मा आधारित भइ विभिन्न गतिविधि अगाडि बढाइरहेको छ ।
यसै क्रममा कम्पनीले कृषि संरचनाहरुको डिजिटल समुद्घाटन कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख आतिथ्यता तथा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको विशिष्ट आतिथ्यतामा भदौ १७ गते आइतबार होटल र्याडिसनमा कार्यक्रम हुनेछ ।
कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिममा अवस्थित ‘प्रादेशिक कार्यालयहरु’हरुको एकसाथ उद्घाटन हुने कार्यक्रम छ । स्याङ्जा र चितवनमा अवस्थित ‘फार्म उत्कृष्टता केन्द्र’, कृषिमा लगानी प्रवद्र्धनका लागि ‘कृषि व्यवसाय परामर्श केन्द्र’, कृषकहरुका वास्तविक समस्याहरुको समाधानको लागि ‘कृषकसँग मुक्तिनाथ कल सेन्टर’, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधा सहितको ‘मुक्तिनाथ कृषि एप’को उद्घाटन हुने कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए ।
‘संस्थागत मूल्य सृङखला व्यवस्थापनमार्फत कृषि चक्रको निर्माण’ गर्दै नेपालको अर्थतन्त्रलाई सवल बनाउने लक्ष्यसहित कम्पनी अगाडि बढेको छ । मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी सहित विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा कम्पनी स्थापना भएको हो ।
त्यसैगरी मुक्तिनाथ कृषि कम्पनीले स्थापनाको पाँचौ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले कम्बाइन हार्भेस्टरको सेवा शुभारम्भ गरेका छन् । ‘समृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ नाराका साथ कृषकहरुको उत्पादन लागत घटाइ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले एउटै मेसिनबाट धान, गहुँ र मकै कटानी तथा फसल छुट्याउने मेसिन कम्पनीले भित्र्याएको हो । उक्त मेसिन खरिद गर्न चाहने किसानलाई फाइनान्सको सुविधासमेत उपलब्ध रहेको बताइएको छ ।








Comments are closed.