डिजिटल कारोबार सेवा प्रदानका लागि नबिल बैंक र एनसेलको सहकार्य

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका बिटुबि तथा बिटुसी ग्राहकले सिम, डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् ।

बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एप मार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकका सिइओ ढुंगानाले यस सम्झौताले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुग्ने बताए ।

उनी दुई संस्था बीचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने बताउँछन् । एनसेलका सिइओ जाब्बोर कायुमोभले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताए । अब एनसेलका ग्राहकले नबिलको पिओएस, पेमेन्ट गेटवे र एनबैंक गरी तीनवटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो ।

बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । यसले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

 

You might also like

Comments are closed.