भारतीय अटो एक्सपो २०२३ मा नाडाका प्रतिनिधि मण्डलको अवलोकन

काठमाडौं । भारतको इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा यहि पुस २९ गतेदेखि शुरु भएको १६ औं अटो एक्सपो २०२३ सम्पन्न भएको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले सो प्रदर्शनीको अवलोकन भ्रमण गरेका हुन् ।

नाडाका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुसहित १५० भन्दा बढी सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए । सो प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ्क एशोसिएशनले (SIAM) पहिलोपटक इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडामा आयोजना गरेको Auto Trade Dialogue मा नाडाका अध्यक्ष धु्रव थापाले नेपालको अटोमोवाइल क्षेत्रको चुनौति र समस्याहरुका बारेमा आफनो धारणा राखेका थिए ।

त्यस्तै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले Nepal Auto Market And Policy Trend का विषयमा विशेष प्रस्तुती दिएका थिए । त्यसैगरी कार्यक्रममा सिलोन मोटर ट्रेडर्स एशोसिएशनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोवाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ्ग एशोसिएशनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफनो देशको अटोमोवाइल व्यवसायका चुनौतिहरुबारे चर्चा गरेका थिए ।

सो डाइलगको सेसन मोडरेटर सियामका स्ट्रायाटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भि.इ कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभिले गरेका थिए । सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठसमेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी सियामले पुस २८ गते सोहि स्थानमा पहिलोपटक आयोजना गरेको EV Discussion कार्यक्रममा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्वय आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी भएका थिए । सियामले नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई सो डाइलग र डिस्कशन कार्यक्रमहरुमा सहभागी भई आफनो धारणाहरु राखि दिन निमन्त्रणा समेत गरेको थियो ।

अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशन (ACMA) ले पुस २७ गतेदेखि माघ १ गतेसम्म दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६ औं अटो एक्सपो (कम्पोनेण्टमा) पनि नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलगायत नाडाका सदस्य कम्पनीहरुले उल्लेख्य मात्रमा अवलोकन भ्रमण गरेका थिए ।

यसबाट नाडाको सियाम र एक्माबीको पारस्परिक सम्बन्ध थप मजबुत भएको छ । नाडाले पनि हरेक वर्षको दशै अगाडि भुकृटी मण्डपमा नाडा अटो शो गर्दै आएको छ।

You might also like

Comments are closed.