काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को टोलीले भेट गरी समसामयिक विषयमा छलफल गरेको छ । नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले श्रेष्ठसँग भेट गरेको हो ।
भेटघाट तथा छलफलमा नाडा अध्यक्ष चौधरीले नेपालमा माल बाहक इन्डियन ट्रक निर्बाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट खाशगरी नेपालको मालवाहक सवारी साधनहरुको बिक्री र त्यसको व्यवसायमा गम्भिर असर परेको बताए । भारतीय मालवाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र सन्चालन गर्न दिने व्यवस्थाका लागि आग्रह गरे ।
छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रतीले नेपाल भारतबीच खुल्ला सिमानाकोे कारणले भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुव्रिकेण्टस, टायर तथा अटोमोबाइल स्पेयर पार्टस् आयात हुँदै आएको बताए । ‘यसले एकातर्फ नेपालका लुव्रिकेण्टस र टायरटयूव उद्योगहरुलाई गम्भिर असर परिरहेको छ भने अर्कोतर्फ ती बस्तुहरुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु आफ्नो व्यवसायमा टिकिरहन ज्यादै कठिन हुँदै गइरहेकाले नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित पनि गर्नुपर्ने देखिएको छ,’ उनले भने । सिमानामा कडाइ गर्दा देशले गुमाई रहेको ठूलो राजश्व पनि प्राप्त हुने भएकाले यसतर्फ आवश्यक पहलका लागि अनुरोध गरे । छलफलका क्रममा नाडाका पदाधिकारी तथा सदस्यहरुले नाकामा हुने गरेका विभिन्न समस्याहरु बारे जानकारी गराएका थिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधीलाई ७२ घण्टा पु¥याइएको र सीमा नाकामा भइरहेको समस्याहरुबारे गहिरो चासो राख्दै यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए । छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्वय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो ।
Comments are closed.