काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित ‘उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन’ भन्ने नाराका साथ पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा समझदारी गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको आयोजनामा भएको सम्मेलनका क्रममा नाडा र श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितीमा सो मन्त्रालय अन्तर्गत रहेको सामाजिक शुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारी पत्रमा नाडाले आफ्ना आवद्ध संघ संस्था र प्रतिष्ठानलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गराउने र सो सुरक्षा कोषले कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरु र सुविधाका सम्बन्धमा नाडासंगको सहकार्यमा आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
नाडाकातर्फबाट अध्यक्ष करण चौधरी र कोषकोतर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन् । नाडा र सामाजिक सुरक्षा कोष बीचको सम्बन्ध आगामी दिनमा थप सबल र सुदृढ हँुदै जाने विश्वास समेत नाडाले लिएको छ ।
समझदारी अनुसार नाडाले अब हरेक प्रदेशमा सञ्चालन गर्ने भन्सार, भ्याट र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रममा सो कोषबाट समेत प्रशिक्षक उपलब्ध गराउने छ । कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुरेन्द्रकुमार उपे्रती र सचिव विक्रम सिंहानिया लगायत सहभागी थिए ।
Comments are closed.