व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सञ्चालन गरेको छ ।

यहीँ बैशाख २४ र २५ गते ललितपुरमा आयोजना भएको तालिममा जोखिम व्यवस्थापन लगायत कार्यस्थलका जोखिमहरू, त्यसको रोकथामका रणनीतिहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृतिका सम्बन्धमा जानकारी दिइएको छ । अटोमोबाइल वर्कशपमा सुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्धेश्यले तालिम आयोजना गरिएको हो ।

नाडाका १२ सदस्य कम्पनीबाट २० जना प्रशिक्षार्थीको सहभागिता रहेको सो तालिममा नेपालका ओ.यस.यच. विज्ञ दिनेशप्रसाद साहले सहजिकरण गरेका हुन् । नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा पहिलो पटक व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम आयोजना गरेको हो ।

इन्स्योरसंगको सहकार्यमा नाडाले २ बर्ष अघि देखि अटोमोवाइलसंग सम्बन्धित विभिन्न विषयमा तालिमहरु सञ्चालन गर्दै आएको छ । नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता खालका तालिम सञ्चालन गरेको जनाएको छ । तालिमको अन्तिम दिन नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा इन्स्योर परियोजनाका डेपुटी टिम लिडर संजिवकुमार राईले सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरेका छन् ।

नाडाका केन्द्रिय कार्यसमिति सदस्य प्रदिपमान प्रधान र इन्स्योर परियोजनाका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोकराज जोशी लगायत सहभागी तालिम नाडाका तालिम कोओर्डिनेटर आरजु श्रेष्ठको संयोजनमा चलेको हो ।

You might also like

Comments are closed.