नाडा अटो शो सुरु, चारपांग्रे रोबोट र उड्ने सवारी मुख्य आकर्षण

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट नाडा नाडा अटो शो २०२५ को सुरु भएको छ ।  प्रधानमन्त्री ओलीले आज देखाइएका नयाँ प्रविधि भविष्यमा नेपालमा पनि प्रयोगमा आउने बताउँदै प्रविधिलाइ कसैले पनि नकार्न नसक्ने बताए । अटोमोबाइलको प्रयोगले व्यापकता पाइरहेको र हाल युवाहरूको समय रहेको उनी बताउँछन् ।

“बजेट र मौद्रिक नीतिमा उदारता अपनाइएको, पूर्वाधार विकासमा जोड दिइएको र देशैभर हाइवे निर्माण भइरहेको छ, व्यवसायीहरु असन्तुष्ट हुनुपर्ने ठाउँ दिइएको छैन, नेपाल ईभीमा अगाडि बढिसकेको र ग्रिन हाइड्रोजनमा पनि अग्रसरता देखाएको छ” उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु–याएको अटोमोबाइल बजारमा सुधारको संकेत देखा परेको बताउँदै नीतिगत सुधार गरेकोमा सरकारलाई धन्यवाद दिए । ईभीको बजार बढ्नु सकारात्मक भएको बताउँदै ढकालले युरो ६ का लागि अर्डरमा रहेका सवारीमा समय दिन आग्रह गरेका छन् ।

नाडाले आयोजना गर्दै आएको अटो शोको यो १७औं संस्करण हो । नाडा गठन भएको ५० वर्ष पुरा भएको अवसरसमेत परेका कारण यसपटकको नाडा अटो शोलाई भव्य र सभ्य बनाउन हरसम्भव प्रयास गरिएको नाडा अध्यक्ष करण चौधरीले बताए । अध्यक्ष चौधरीले नेपालका लागि अटो शो गौरवको विषय भएको बताउँदै उनले अटोमोबाइल क्षेत्रबाट १० लाख रोजगारी सिर्जना भएको बताए ।

सीप र रोजगारी दिएर युवालाई देशमै रोक्नका लागि भूमिका खेल्न सक्ने व्यवसायिक थलो समेत बन्न सक्ने उनी बताउँछन् । पहिलो पटक फ्लाइङ कार लगायतका विभिन्न प्रविधि नाडा अटो शोमा प्रदर्शन गरिएको बताउँदै उनले ४० प्रतिशत बुकिङ नाडाबाटै हुने बताए ।

यस वर्षको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शकको सहभागिता, ३० भन्दा बढी सवारी साधनका ब्राण्डहरू, विद्युतीय, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधानहरू र भिन्टेज मोटर शो रहेका छन् । ‘गो फर मोर’ नाराका साथ आयोजना गरिएको प्रदर्शनीले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्राण्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्राण्ड, ४ वटा दुईपांग्रे सवारीका ब्राण्ड र अटो पाट्र्स, टायर, ब्याट्री, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । आजबाट सुरु भएको अटो शो आगामी भदौ ८ सम्म चल्नेछ ।

एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको शोमा १२५ भन्दा बढी प्रदर्शक रहेका छन् । करिब ३ लाख वर्गफुट क्षेत्रमा फैलिएको प्रदर्शनीस्थलमा १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र समेटिएको छ । प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स नामक अत्याधुनिक चारपांग्रे रोबोट र दिपलको ईभीटोल यूएभी (उड्ने सवारी) छन् ।

त्यसैगरी पुराना गाडीहरुको प्रदर्शनी भिन्टेज मोटर शो समेत रहेको छ । ‘मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्मित सवारी तथा अटो पाट्र्स देखाइएको छ भने अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत विदेशी सहकार्य प्रवद्र्धन गरिनेछ । ईभी र स्मार्ट मोबिलिटीसम्बन्धी सेमिनार, कार्यशाला र अन्तक्र्रिया कार्यक्रम पनि हुनेछ ।

सुविधा र सुरक्षाका लागि दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवालाई सुविधाजनक जोनमा विभाजन गरिएको छ । खल्ती एपमार्फत टिकट खरिद गर्न सकिने व्यवस्था छ भने मिडिया डेस्क, ट्राफिक सूचना डेस्क र आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी आदिको व्यवस्था गरिएको छ । नाडा अटो शो २०२५ को टाइटल स्पोन्सर एमएडब्लु वृद्धि अर्थात युनिट्री रहेको छ ।

त्यसैगरी को–स्पोन्सर शिखर इन्स्योरेन्स, पावर्ड बाई क्याम्पा कोला, मोबिलिटी पार्टनर याङगो, टिकेटिङ पार्टनर खल्ती बाई आईएमई, इन्टरनेट पार्टनर वल्र्डलिंक, सर्भिलियन्स पार्टनर सीसीटीभी नेपाल, फायर सेफ्टी पार्टनर हिमालयन सेफ्टी सोलुसन र हस्पिटल पार्टनर किस्ट हस्पिटल रहेको छ ।

हस्पिटालिटी पार्टनर द प्लाजा रहेको नाडा अटो शो २०२५ को डोर प्राइज नेपाल ल्युब आयलले उपलब्ध गराउने छ । ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिले इभेन्ट व्यवस्थापन गरेको छ ।

You might also like

Comments are closed.