सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकाबारे छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटघाट गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको टोलीले महानिर्देशक पोखरेलसँग भेटघाट गर्दै अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल गरिएको छ ।

अध्यक्ष चौधरीले विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञासा राख्दै यस सम्बन्धमा सो विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरे । यसैक्रममा अध्यक्ष चौधरीले प्रस्तावित निर्देशिकामा भएका बुँदाबारे नाडा र विभागबीच विस्तृत छलफल गरी अघि बढनुपर्ने धारणा राखेका छन् ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाको विषयमा थप छलफल गरिनुपर्ने आवश्यकता रहेको बताउँदै उल्लेखित बुँदाका सम्बन्धमा क्रमबद्ध रुपमा छलफल गरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेलाई दण्डित गर्नुपर्ने र सही कार्य गर्नेलाई पुरस्कृत गर्नुपर्ने धारणा राख्दै नेपालमै व्याट्री उद्योगको स्थापना भइसकेको जानकारी दिए । सो भेटघाटमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सो प्रस्तावित निर्देशिका तयार पार्न सयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको जनाए ।

महानिर्देशक पोखरेलले यस विषयमा नाडा जस्तो मुख्य सरोकारवालासँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए । नेपालमा अहिलेसम्म सवारी साधन आयात सम्बन्धी कुनै स्पष्ट नियम नभएकाले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको बताउँदै महानिर्देशक पोखरेलले यस विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.