नाफिज सदस्य क्षेत्रीलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले लक्ष्मी बुढा क्षेत्री (लिजा) लाई १ लाख रुपैयाँ बराबरको बीमा दावी रकम हस्तान्तरण गरेको छ । नाफिजका सदस्य क्षेत्रीलाई बीमा दावी वापत सो रकम हस्तान्तरण गरेको हो ।

नाफिजले गत पुस २९ गतेदेखि लागू हुने गरी आफ्नो २३५ जना सदस्य तथा सल्लाहकारको जनही ७ लाख रुपैयाँका दरले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सामूहिक दुर्घटना बीमा गरेको थियो । बीमा दायरामा रहेकी क्षेत्रीलाई उपचार खर्च वापत बीमा कम्पनीबाट आएको सो दावी रकम हस्तान्तरण गरिएको हो ।

क्षेत्री गत वैशाखमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी थिइन् । उनको खुट्टाको शल्यक्रिया समेत गर्नुपर्यो । त्यसपछि नाफिजले सलिकोमा दावी पेश गरेको थियो । आवश्यक प्रक्रिया पुरा गरेर दुवै कम्पनीको नामबाट सलिकोले नाफिजको बैंक खातामा बीमा दावी वापत १ लाख रुपैयाँ भुक्तानी गरेको छ । नाफिजले सोही रकम क्षेत्रीलाई हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण गर्दै नाफिजकी अध्यक्ष मेनुका कार्कीले बीमाका कारण पत्रकारलाई आर्थिक सुरक्षा प्रदान गर्न सहज भएको बताइन् । नाफिज आफ्ना सदस्यको जोखिम रक्षावरण गर्न आगामी दिनमा बीमाको दायरा थप बढाउने योजनामा रहेको कार्की बताउँछिन् । “आर्थिक पत्रकारलाई पनि रिपोर्टिङका क्रममा विभिन्न जोखिम हुने हुदा क्षतिलाई आर्थिक सुरक्षा प्रदान गर्न हामीले नाफिज सदस्यको दुर्घटना बीमा गरेका थियौँ, यसले नाफिजका अन्य सदस्यलाई पनि आर्थिक सुरक्षा प्रदान गरेको छ” उनले भनिन् ।

नाफिजले गरेको यो बीमाको म्याद आगामी पुस २८ गतेसम्म रहेको छ । त्यसपछि त्यसको नविकरण गरिनेछ । सम्झौता अनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति ७ लाखका दरले दुर्घटना बीमा भएको छ । नाफिजले आगामी दिनमा आफ्ना सदस्यको हितका लागि स्वास्थ्य बीमा पनि गर्ने योजनामा रहेको छ ।

You might also like

Comments are closed.