‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा ३५ नयाँ सवारी लञ्च हुँदै, ५० बढी ब्राण्डको सहभागीता रहने

काठमाडौं । नेपालकै ठूलो प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ वटा नयाँ सवारी साधन लञ्च हुने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले आयोजना गर्न लागेको एक्स्पोको सन्दर्भमा सोमबार आयोजित पत्रकार सम्मेलन गर्दै सो विषयमा जानकारी दिइएको छ ।

सोल्टी होटलको सुरसुधा हलमा आयोजित सम्मेलनमा आयोजकले एक्स्पोमा ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुने बताएको छ । अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले यस पटक नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम् मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी दिए । यस पटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुँदै गरेको र त्यहाँको भौतिक पूर्वाधारमा गरिएको सुधार –विशेषतः जल निकासी, अपाङ्गमैत्री पूर्वाधार जस्ता व्यवस्था उल्लेखनीय रहेको उनले बताए ।

प्रर्दशनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कर्मसियल गाडीहरु सार्वजनिक गर्ने तयारी भइरहेको छ । मुख्य प्रायोजक संस्थाहरू एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णुप्रसाद ज्ञवाली र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

एभरेष्ट बैंक र नेशनल इन्श्योरेन्स प्रमुख प्रायोजक रहेको प्रर्दशनीमा टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यु, विङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल र म्यानेजमेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रर्दशनीका आगन्तुकलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको छ । राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशत सम्म छुट दिने, मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रर्दशनीस्थलमा चौबिसै घण्टा एम्बुलेन्स तथा सामान्य चिकित्सासेवा प्रदान गर्ने भएको छ ।

यसबाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाईन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । प्रतियोगितामा साउन २१ गतेसम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिष्पर्धीलाई १ लाख र साउन २१ देखि २५ गतेसम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

नाइमाका अध्यक्ष रितु शिंह वैद्यले मिडिया तथा साझेदारलाई धन्यवाद दिदै ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन् । प्रर्दशनीको पाँचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनका सम्बन्धमा अध्यक्ष वैद्यले बताइन् ।

प्रर्दशनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजे सम्म ‘मोबिलिटी हिजो, आज र भोली’ विषयमा सचेतनामूलक कार्यक्रम गर्ने तय भएको छ । अन्य दिनका सत्रमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टीच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका दक्ष तथा विज्ञ व्यक्ति सहभागी हुने जनाइएको छ ।

प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा बिक्री भएका टिकटको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गरिनेछ ।

अटो एक्स्पो समितिका सदस्य गैरव सारडाले स्वागत गर्दै एक्स्पो आयोजना गर्नुको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी गराएका छन् । कार्यक्रमको सञ्चालन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका हुन् ।

 

You might also like

Comments are closed.