नेपाल बैंक र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

अनुसन्धानको कार्यमा समन्वय गर्ने

काठमाडौं । नेपाल बैंक लि. र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

मंगलबार एक कार्यक्रमका बीच अनुसन्धान सम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउने भएका छन् भने, सो विभागका विद्यार्थीहरु र प्राध्यापकहरुमार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यमहरु संचालन गर्नेछ ।

बैंकको अनुसन्धानसम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रुपमा प्राध्यापकहरुको सूची बैंकलाई उपलब्ध गराउनेछ ।र, सो सूची अन्तर्गतका प्राध्यापकहरुलाई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रुपमा नियुक्त गर्नेछ ।

त्यसैगरी बैंकले गरेको अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा संचालित शैक्षिक कार्यक्रमहरु एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरुलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट (जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्ति स्वरुप न्यूनतम ५ जना विद्यार्थीहरुलाई बैंकले प्रति विद्यार्थी नगद तीस हजार प्रदान गर्नेछ ।

बैंकले व्यवस्थापन विभागमा एमबिए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरुलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडलसहित ‘नेपाल बैंक कर्पोरटे लिडरसिप अवार्ड’ समेत प्रदान गर्नेछ ।

You might also like

Comments are closed.