सहकारीको रकम सदस्यको हो भन्ने कुरा सञ्चालकहरुले बुझ्नु पर्छ : जि.सी.

नवलपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाले सञ्चालन गरेको दुई दिने ऋण तथा जोखिम ब्यवस्थापन तालिम मंगलवार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले सहकारीका सञ्चालकहरुले सहकारीमा रहेको पैसा सदस्यहरुको हो भन्ने बुझ्न सकेमा सहकारीमा आउने समस्या कम हुने बताएका छन् ।

सहकारीमा सदस्यहरुको सेयर तथा वचत रकम हुन्छ । सदस्यहरुले गरेको वचत कतिपय सहकारीका सञ्चालकहरुले मनोमानी तरिकाले परिचालन गरेका कारण सहकारीमा समस्या आएको छ’, जिसीले भने, ‘सहकारीमा भएको पैसा सदस्यहरुको हो । उनीहरुले मागेका बखत फिर्ता गर्नु पर्छ भन्ने कुरा सबै सञ्चालकहरुले बुझ्ने हो भने सहकारीमा समस्या आउदैन ।’

यतिबेला सहकारीहरुलाई जोगाउनु पर्ने अवस्था आएको चर्चा गर्दै उनले सहकारीको साख जोगाउनका लागि सबैभन्दा महत्वपूर्ण कुरा सुशासन कायम गर्नु पर्ने उनको भनाइ थियो । कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघ नवलपुरका अध्यक्ष होमनाथ जैसी, पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोष नवलपुरका सदस्य सचिव प्रितम भुजेल, तालिमका सहजकर्ता बैंकका सहायक अधिकृत राजकुमार बरालले सहकारी व्यवसायमार्फत समाज रुपान्तरणका लागि यसले सञ्चालन गर्ने व्यवसायलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।

jutta mela

तालिमका सहभागीहरु कालीगण्डकी साकोसका कोषाध्यक्ष रेशमलाल चापागाई र नवप्रतिभा वचत तथा ऋण सहकारी संस्थाका सञ्चालक दुर्गालक्ष्मी काफ्ले पाठकले तालिमबाट ऋणको जोखिम कम गर्नका लागि धेरै महत्वपूर्ण कुराको जानकारी भएको र संस्थामा गएर सिकेको कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

जिल्ला सहकारी संघ लिमिटेड नवलपुरका सचिव श्याम सुन्दर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राष्ट्रिय सहकारी बैंक कावासोती शाखाका प्रमुख रुक्मत श्रेष्ठले गरेका थिए । बैंकले सञ्चालन गरेको तालिममा २७ वटा सहकारी संघ संस्थाका ४४ जनाको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.