सेवालाई थप उत्कृष्ट बनाउने प्रतिवद्धतासहित सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न

पोखरा । पोखरामा आयोजित  राष्ट्रिय सहकारी बैंक लिमिटेडको ३ दिने वार्षिक समिक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को समग्र समिक्षा गरी चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन गोष्ठी सहयोगी हुने बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकको वर्तमान वित्तीय अवस्था र आगामी लक्ष्य, बैकले सञ्चालन गरेका सेवाहरु र आगामी दिनमा सञ्चालन गर्ने सेवाहरु, बैकको सञ्चालन प्रक्रिया लगायतका विषयमा शाखा प्रमुखहरुको प्रस्तुतीकरण, समुह छलफल गरी प्रभावकारी रुपमा अगाडि बढ्ने प्रतिवद्धता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम समापनका अवसरमा बोल्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले ७७ वटै जिल्लामा बैंकको सञ्जाल निर्माण गरेर थप प्रभावकारी सेवा सञ्चालनका लागि बैकको सम्पूर्ण शक्ति परिचालन हुनु पर्नेमा जोड दिए ।

बैंकको पहिलो काम सदस्यहरुलाइ प्रदान गरिने वित्तीय तथा अन्य सेवालाई प्रभावकारी बनाउने र समग्र सहकारी अभियानको प्रभावकारितामा सहयोग पुग्ने गरी काम गर्न अध्यक्ष उप्रेतीले शाखा प्रमुखहरुलाई आव्हान गरे । उनले शाखा भएका ठाउँमा शाखा मार्फत र शाखा नभएका जिल्लामा जिल्ला स्तरीय सञ्जाल निर्माण गरी बैंकको सेवालाई थप प्रभावकारी बनाइने बताए ।

सहकारी क्षेत्रमा पूँजि संकलन र उत्पादनशिल क्षेत्र लगायतका क्षेत्रमा पूँजि परिचालनका लागि बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन जनशक्तिको क्षमता अभिवृद्धि, योजना निर्माण गर्नु पर्ने उनको सुझाव छ ।

बैकको लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले देशभरका शाखा प्रमुखहरुको प्रस्तुती, योजना, लक्ष्य र काम गर्ने उत्साह सकारात्मक रहेको चर्चा गर्दै बैंकलाई सुरक्षित र सक्षम बनाउन जनशक्ति प्रभावकारी रहेको बताए । बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले स्थानीय तहहरुसंग समन्वय गरेर सदस्य वृद्धिसगै सहकारीहरुको क्षमता विकासका काममा बैंकको भूमिका थप वृद्धि गरिने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारी क्षेत्रमा बैंकले सञ्चालन गरेका प्रविधि लगायतका सेवाहरुलाई आम सहकारीहरुमा पुर्‍याउन सकेमा सहकारी क्षेत्रका साख बढाउन सकिने बताए ।

कार्यक्रमको सञ्चालन बैंकको शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सचिव रामबाबु आचार्यले गरेका थिए ।सहकारी संघ संस्थाहरुसंग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका सहकारी संघ संस्थाहरुसंग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल करिव १६ हजार सेयर सदस्य, करिव ३ अर्ब सेयर रकम, ५१ अर्ब निक्षेप, ३७ अर्ब कर्जा लगानी रहेको छ ।

You might also like

Comments are closed.