काठमाडौं । विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।
बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधि र विभिन्न सरोकारवालाले बालविवाह अन्त्यका समाधानबारे छलफल भएको छ ।
जोन्टाका अध्यक्ष बिना रानाले कार्यक्रम उद्घाटन गर्दै उनले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । युनिसेफ नेपालकी डेप्यूटी रिप्रेजेन्टेटिभ टू नेपाल जी ह्युन राह, युएनएफपीए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ, कमला विष्ट, कलाकार प्रकाश सपुत, र एसडीजी स्टुडियोले “शिरमै फुर्के रिबन” शीर्षकको संगीत भिडियो सार्वजनिक गरेका छन् । यो भिडियो किशोर किशोरीलाई बालविवाहका असरबारे सचेत गराउन युएनएफपीए र युनिसेफ नेपालले संयुक्त रूपमा बनाएका हुन् ।
नेपालमा बालविवाह अझै पनि लैङ्गिक समानता र महिला तथा किशोरीहरूको सशक्तिकरणको लागि प्रमुख चुनौती बनेको छ । यहाँ तीनमध्ये एक किशोरी १८ वर्षभन्दा पहिले नै विवाह गर्छन्, जसले गर्दा उनीहरुको स्वास्थ्य, शिक्षा, र आर्थिक अवसरमा गम्भीर असर पार्छ । महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले भने, “बालविवाह मानव अधिकारको उल्लङ्घन हो र यसलाई समाधान गर्न विभिन्न क्षेत्रको सहकार्य आवश्यक छ । ”
महिला नेतृत्वमा रहेका संस्थाहरू र महिला सशक्तिकरणका कार्यक्रमले लैङ्गिक हिंसाविरुद्ध अग्रणी भूमिका खेल्दै आएका छन् । यी संस्थाले महिलाहरू र किशोरीको वास्तविक आवश्यकता बुझेर दीर्घकालीन परिवर्तन ल्याउन सक्छन् । महिला अधिकारकर्मी तथा यूनाइटेड नेशनकी सीइडीएडब्ल्यु, कमिटी सदस्य बन्दना रानाले भनिन्, “महिलाहरू र किशोरीहरूको विविध आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने संस्थाहरूले लैङ्गिक समानता प्रवर्धन गर्न र स्थायी परिवर्तन ल्याउन सक्षम छन् ।”
निजी क्षेत्रले पनि बालविवाह अन्त्यका प्रयासमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । स्रोत, प्लेटफर्म र आफ्नो प्रभावमार्फत, नेपाली व्यवसायले लैङ्गिक समानता तथा बाल संरक्षण प्रवद्र्धन गर्ने निती आफ्नो कार्यस्थलमा समावेश गर्न सक्छन् । साथै, आर्थिक सशक्तिकरणका कार्यक्रमद्वारा किशोरीहरू र महिलालाई बालविवाहको विकल्प उपलब्ध गराउन सक्छन् ।
एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एण्ड सिएसआर, विशाखा लक्ष्मी खड्काले भनिन् “नेपालको एक अग्रणी निजी क्षेत्रको रूपमा एनसेल समावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध छ । एनसेलमा हामी लैङ्गिक हिंसाको अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभइ सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास राख्छौं । यस किसिमको विभिन्न क्षेत्रको साझेदारीको माध्यमबाट यस सामूहिक प्रयासलाई प्रोत्साहन गर्न, समुदायलाई सशक्त बनाउन सक्ने वातावरण निर्माणतर्फ काम गर्न चाहन्छौं ।”
बालविवाहको मूल समस्याहरू, जस्तै गरिबी, शिक्षा अभाव, र सीमित आर्थिक अवसरलाई समाधान गर्न महिला नेतृत्वमा रहेका संस्था, निजी क्षेत्र, र अन्य सरोकारवालाको एकीकृत दृष्टिकोण आवश्यक छ । यस सहकार्यद्वारा बालविवाह अन्त्य गर्न सबै पक्षले आफ्नो अनुभव र स्रोत प्रयोग गरी योगदान गर्न सक्छन् ।
जोन्टा क्लब काठमाडौंकी अध्यक्ष बिना राना भन्छन्, “लैङ्गिक हिंसा अझै पनि गम्भीर समस्या हो, जसलाई बालविवाहको बढ्दो दर र जलवायु परिवर्तनका खतराले थप जटिल बनाएको छ । ‘जोन्टा सेज नो टु भायोलेन्स अगेंस्ट वुमन’ अभियानमार्फत, हामी महिला, किशोरी र समाजको उज्ज्वल भविष्य निर्माण गर्न प्रतिबद्ध छौं । २०१८ देखि जोन्टा इन्टरनेशनलले युएनएफपीए–युनिसेफ ग्लोबल प्रोग्राम टु इन्ड चाइल्ड म्यारिजलाई समर्थन गर्दै आएको छ ।”
कार्यक्रमको समापनमा, युनिसेफ नेपालकी जी ह्युन राहले विभिन्न सहकार्यद्वारा बालविवाहको चक्र तोड्न र महिला तथा किशोरीलाई उनीहरूको सम्पूर्ण सम्भावनामा पुग्न सशक्त बनाउन सक्ने बताइन् ।
Comments are closed.