काठमाडौं । मसलालाई नेपालमै आत्मनिर्भर बनाउने लक्ष्यसहित नेपाली उत्पादन ‘एनडिएच मसला’को बजार विस्तारलाई तिब्र बनाइएको छ । श्री बालाजी इम्पोर्ट एक्स्पोर्ट ट्रेडर्सले एनडिएच ब्राण्डका मसला उत्पादन गर्दै आइरहेको छ । कम्पनीले नेपाली बजारमा ५५ वटा भेराइटीका मसला उत्पादन गर्दै देशभरको बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । बिगत ५ वर्षदेखि नेपाली बजारमा उपलब्ध यो मसला विदेशमा समेत निर्यात हुँदै आइरहेको छ ।
नेपाली ब्राण्डको मसलाबाट नेपाललाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने मान्यतासहित एनडिएच ब्राण्डमा मसलाहरु उत्पादन गरिरहेको बताउँछन् कम्पनीका सञ्चालक कमल सिंह । ‘पछिल्लो समय आक्रामक रुपमा बजार बिस्तार गरिरहेका छौं,’ उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय उत्पादन बजारमा ल्याएका छौं ।’
कम्पनीको मुख्य कार्यालय चाबहिलमा छ भने उद्योग बुढानिकलण्ठमा छ । उद्योगबाट दैनिक रुपमा कम्तीमा एक टन मसला उत्पादन हुँदै आइरहेको उनले जानकारी दिए ।
एनडिएच मसला स्वदेशी बजारसँगै विदेशमा पनि लोकप्रिय हुँदै गइरहेको प्रमुख कार्यकारी अधिकृत केम्स सिंहले बताए । अष्ट्रेलिया, युएसए, जापान, दुवईमा मसला निर्यात हुँदै आइरहेको छ । ‘विदेशमा निर्यात बढाउँदै लग्नेछौं र अन्य देशमा पनि विस्तार गर्ने तयारी भइरहेको छ,’ उनले भने ।
नेपालमा अन्य ब्राण्डका मसलाको तुलनामा आफूहरुसँग धेरै भेराइटीको मसला उपलब्ध रहेको सिंहले बताए । ‘ग्राहकले आफ्नो चाहना र आवश्यकता अनुसारको स्वादमा मसला खरिद गर्न सक्छन्,’ उनले भने । एनडिएच ब्राण्ड हलाल, एफडिए, एचएसिसिपी, आइएसओ ९००१ः२०१५ र आइएसओ २२०००ः२००५ बाट सर्टिफाइडसमेत भइसकेको छ । ‘हाम्रो प्राथमिकता नै गुणस्तर हो,’ उनले भने ।
काठमाडौं उपत्यकासहित देशभरको बजारमा मसला उपलब्ध रहेको र आगामी दिनमा अझै व्यापक रुपमा बजार विस्तारको योजनामा आफूहरु रहेको उनले बताए । ‘नेपाली बजारलाई मसलामा आत्मनिर्भर बनाउन भूमिका खेल्न हामी आफ्नो ठाउँबाट तत्पर भएर लागिरहेका छौं,’ उनले भने, ‘राज्यको ध्यान पनि नेपाली उत्पादनलाई प्राथमिकतामा राख्नेतर्फ हुनुपर्छ ।’
नेपालमा आधुनिक मार्टहरुसहित साना–साना पसलहरुमा एनडिएच मसला उपलब्ध रहेको सिंहले जानकारी दिए । दराज, गो डेली, सस्तो डिल, मेट्रो तरकारी लगायतको अनलाइन सपिङबाट पनि एनडिएच मसला खरिद गर्न सकिनेछ । सिंहले मसला उद्योगमा हालसम्म ६ करोड रुपैयाँ भन्दा बढी लगानी गरिसकेका छन् । करिब सय जनाले रोजगारी प्राप्त गरेका छन् ।
Comments are closed.