काठमाडौं । बिस्कुट तथा कन्फेक्सनरी उत्पादनमा ६ दशकको अनुभव संगालेको नेविको प्रा.लि.ले उत्पादन क्षमता बढाउँदै नयाँ रणनीतिका साथ आगामी यात्रा अगाडि बढाउने भएको छ । प्रा.लि.ले शुक्रबार ५२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उत्पादन क्षमता बृद्धि गर्दै अझै बढी सशक्त रुपमा अगाडि बढ्ने रणनीति प्रा.लि.ले साधारणसभाबाट लिएको छ । प्रा.लि.का कार्यकारी अध्यक्ष राजबहादुर सिंहको अध्यक्षतामा साधारण सभा भएको हो ।
उक्त अवसरमा बोल्दै प्रालिका कार्यकारी निर्देशक राजेश कुमार रौनियारले आगलागीबाट प्रा.लि.ले धेरै क्षति व्यहोरोको र त्यसबाट ‘कमब्याक’ हुँदै अगाडि बढिसकेको बताए । काठमाडौंको बालाजूमा रहेको नेबिको प्रा.लि.को कारखानामा गत साउन २३ गते भिषण आगलागी भएको थियो । आगलागीबाट भौतिक संरचनाको पूर्ण क्षति भएको थियो । आगलागी भएको डेढ महिनामा नै ‘कमब्याक’ हुँदै नेबिको प्रा.लि.ले पुनः उत्पादन सुरु गर्दै आफ्ना उत्पादन बजारमा पठाउन सफल भयो ।
आगलागी पछि बालाजु औद्योगिक क्षेत्रमा प्रा.लि.ले केही भौतिक संरचना बनाइसकेको छ भने केही संरचना बनाइरहेको छ । बालाजुमा अहिले पुरानो मेसिनलाई मर्मत सम्भार गरी सीमित क्षमतामा उत्पादन भइरहेको छ । अब प्रालिले नयाँ मेसिन राखेर उत्पादन क्षमता बढाउने तयारी गरेको छ । दैनिक ७ सय टन उत्पादन क्षमता हुने गरी नयाँ मेसिन राख्ने तयारीमा प्रालि छ ।
प्रा.लि.ले हेटौंडा औद्योगिक क्षेत्र भित्र भाडामा लिएको जमिनमा पनि पूर्वाधार निर्माण गर्दैछ । भैरहवामा रहेको उद्योगमा समेत नयाँ मेसिन थप्ने र उत्पादन क्षमता बढाउने तयारीमा प्रालि रहेको बताइएको छ ।
नेबिको नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने कम्पनी हो । सन् १९६४ देखि नेपाली बजारमा आफ्नो वेग्लै पहिचान बनाउन सफल भएको नेबिकोको नेपालको हरेक कुना काप्चामा आफ्नो उत्पादनहरु उपलव्ध गराउन सफल छ । बिस्कुट, कुकिज, कन्फेक्सनरीज र ब्रेकफास्ट सेरिल्स गरि ४ वटा युनिटमा प्रा.लि.ले अग्रणी पहिचान बनाउन सफल छ ।
Comments are closed.