सहकारी क्षेत्रमा अपेक्षाअनुसारकाे काम भएन : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रमा गरिएका प्रयासहरु आशा गरेअनुसार सफल नभएको बताएकी छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको ३५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएकी हुन् ।

उनले सहकारी क्षेत्रले गरेको अनुभव र व्यवहारका विषयमा अन्तर्राष्ट्रिय स्तरमा खुलेर वहस गर्ने र अनुभव आदानप्रदान गर्न सक्ने स्तरमा पुगे पनि यसैमा सन्तोष गरेर बस्ने अवस्था नरहेको बताएकी छन् । मन्त्री श्रेष्ठले मुलुकमा भएको राजनीतिक परिर्वतन राज्य पुनः संरचना, जनताको बदलिदो उच्च आकाक्षांहरु, देशको आर्थिक सम्भाव्यता र प्रविधिको विकासका कारण सहकारी क्षेत्रमा सर्वसाधारणको चासो र चिन्ता देखिन थालेको बताएकी हुन् ।

सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता र जिम्मेवारी आएको समयमा दोष अरुलाई देखाएर आफू पन्छिने प्रवृत्ति सहकारी अभियान्ताहरुमा देखिएको भन्दै मन्त्री श्रेष्ठले सहकारी ऐन नियमावलीमा भएका व्यवस्थाहरुको पूर्ण परिपालन, सहकारी मुल्य मान्यता र सिद्धान्तको सही परिपालनबाट मात्र सहकारी क्षेत्रको समस्या समाधान गर्न सकिने बताइन् ।

jutta mela

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारीहरुको स्तरउन्नतिको लागि राज्यले धरै नीति तथा कार्यक्रमहरु ल्याएको बताउदै त्यसको लागि सहकारीहरु पनि सजग र इमान्दार हुनुपर्नेमा जोड दिए । साथै कार्यक्रम बोल्दै सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले नेफ्स्कूनले आगामी दिनहरुमा अझ धरै सदस्यहरु विस्तार गर्दै लैजानु पर्नेमा जोड दिएका छन् ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल, नेफ्स्कूनका निर्वतमान अध्यक्ष डिवी बस्नेतलगायतले बोलेका थिए । नेफ्स्कूनमा अहिलेसम्म नेपालभरबाट ४ हजार ४ सय ६४ सदस्य आवद्ध रहेका छन् ।

यसले देशभरका ७६ जिल्लामा आफ्नो सदस्य विस्तार गरेको छ । संस्थाले हालसम्म २२ अर्ब ६० करोड पुँजी परिचालन गरेको छ भने, १ करोड १५ लाखको स्थिरीकरण कोषको व्यवस्थापनसमेत गरेको छ ।

You might also like

Comments are closed.