नेफ्स्कूनको स्थापना दिवस : नेफ्स्कून र सहकारी अभियान्ताबीच एकमत हुनुपर्नेमा जोड

श्रीराम सुवेदी, पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३१औँ स्थापना दिवसको सन्दर्भमा पोखरा क्षेत्रका सहकारी संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सहभागीले सहकारीमा देखिएका समस्याका कारण, त्यसलाई निराकरणका उपाय र सहकारीको गुणस्तरीय सेवा दिने विषयमा नेफ्स्कून र सहकारी अभियान्ताबीच एकमत भएर अगाडि बढ्नुपर्ने समय आएको बताए । शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. कास्कीकी अध्यक्ष सावित्रा कोइरालाले नेफ्स्कूनले गर्ने सहजीकरण र मार्गनिर्देशन सराहनीय भएको बताइन् ।

तरलता समस्याले राष्ट्रलाई नै गाजीरहेको अवस्था रहेको बताउँदै अतिथि कोइरालाले यदाकदा सहकारीमा देखिएका समस्या सहकारीको नाममा संस्था सञ्चालन गरी सिद्धान्तभन्दा बाहिर जाँदा समस्या आएको बताइन्। उनले नियामक निकायले अनुगमनलाई प्रभावकारी ढंगले अगाडि बढाउन नसक्ने तर संस्था दर्ता गरिरहने परिपाटीले सहकारीलाई झन् भद्रगोल बनाउने हो कि भन्ने आशंकासमेत व्यक्त गरिन् ।

त्यस्तै, कास्की बचत संघका अध्यक्ष भेषराज बरालले मनपरी गर्ने सहकारी संस्थाले गुणस्तरीय सहकारीको पनि छवि धुमलिएको र धेरै बोनसको नाममा सदस्यलाई लोभ्याउने सहकारी नै ढिलोचाढो समस्यामा परेको बताए ।

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइरालाले सरकारले सहकारीलाई थोपरेको कर फिर्ता तथा ऐन संशोधन र सहकारीका सबलीकरणका विषयमा नेफ्स्कूनले मूख्य भूमिका तथा अभिभावकत्व खेल्नु पर्ने बताए । उनले सहकारीको स्थिरिकरण कोषको परिचालन र महत्वका विषयमा प्रारम्भिक सहकारी संस्थालाई बुझाउन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा नेफ्स्कूनका अनुगमन अधिकृत सूर्यप्रसाद तिमिल्सिनाले सहजीकरण गरेका थिए भने पोखरा रोयल सहकारी संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ, संगम सहकारीका अध्यक्ष निरज थापा, आस्था सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए। नेफ्स्कूनका निवर्तमान सञ्चालक सदस्य भिम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य नेफ्स्कून उपसमिति सदस्य जगन्नाथ अधिकारीले गरेका थिए ।

नेफ्स्कून पोखरा फिल्ड अन्तर्गत गण्डकी प्रदेशका सात जिल्लाका ३६४ सहकारी सदस्य रहेका छन् भने ८४ करोड लगानी गरेको उक्त संस्थाको २ अर्ब बचत संकलन रेहको छ ।

You might also like

Comments are closed.