‘अर्थतन्त्रलाई सही बाटोतर्फ लैजान सहकार्य जरुरी’

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्य समिति पदाधिकारी तथा कार्य समिति सदस्यहरुलाई सम्मान गरेको छ । बिहीबार चेम्बरले एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई सम्मान गरेको हो ।

आत्म निर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्र एउटै वास्केटमा रहेको बताउँदै चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका भनाइहरुलाई जनता माझ पुर्याउन इकोनोमिक मिडिया क्षेत्रसंग सम्बन्धित लगानीकर्ता तथा संचारकर्मीहरुको अहंम भूमिका रहेको बताए ।

त्यसैगरी सरकारले प्रतिवद्धता गरेका कतिपय सुविधाहरु व्यवहारमा उपलब्ध हुन नसकेका कतिपय उदाहरणहरु छन् । यी प्रतिवद्धताहरु शब्दमा मात्र सीमित रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई घच्घच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको समेत बताए । साथै आर्थिक एजेण्डामा सबैको समान दायित्व रहेकाले सहकार्य गर्दै अगाडी बढ्न जरुरी रहेको बताए ।

त्यस्तै, इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्ने, आर्थिक मन्दीका सन्दर्भमा निजी क्षेत्रसंग समन्वय गर्ने र निजी क्षेत्रका चुनौतिहरुलाई सम्प्रेषण गर्ने उद्देश्यले यस संस्थाको स्थापना भएको बताउँदै संस्थाको भूमिकामा केही कमजोरी भए सुझाव दिन पनि आग्रह गरे ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल तथा उपाध्यक्ष उर्मिला श्रेष्ठको पनि उपस्थिति रहेको थियो । इकोनोमिक मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष सिताराम बिलासी, उपाध्यक्षद्वय सोमनाथ वास्तोला र लोचन खतिवडा महासचिव नारायण पौडेल, सचिव हिम बिष्ट, सहसचिव विष्णु जमरकट्टेल, कोषाध्यक्ष केशव भण्डारी, सदस्यहरु मिलन खडका तथा सुरेन्द्र पौडेलको पनि उपस्थिती रहेको थियो ।

You might also like

Comments are closed.