उद्योगमन्त्री भण्डारीद्वारा चेम्बर एक्स्पोको अवलोकन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘आठौं नेपाल चेम्बर एक्स्पो २०२५’ को अवलोकन गरेका छन् ।

माघ १७ गतेदेखि नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सुरू भएको एक्स्पोको आइतबार मन्त्री भण्डारीले अवलोकन गरेका हुन् । अवलोकनका क्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री भण्डारीले एक्स्पो अवलोकन गर्न पाउँदा आफूलाई रमाइलो महसुस भएको बताएका छन् ।

यस्ता प्रदर्शनीले नेपाली उद्यमीले उत्पादन गरेका सामग्रीलाई विश्व बजारमा चिनाउन तथा निर्यात प्रवद्र्धन गर्न सहयोग पुग्ने उनी बताउँछन् । सरकारले सूचना प्रविधि क्षेत्रलाई नयाँ ऐनको माध्यमबाट विशेष स्थान दिएको मन्त्री भण्डारीले बताए । नेपालका आईटी कम्पनीहरू अन्य देशमा समेत सञ्चालन गर्न सकिने ऐनको प्रावधानले समग्र आईटी क्षेत्र उत्साहित रहेको मन्त्री भण्डारीको भनाइ छ ।

कार्यक्रममा मन्त्री भण्डारीलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरू उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्रकुमार श्रेष्ठलगायतले स्वागत गरेका हुन् । गत माघ १७ देखि सुरु भएको चेम्बर एक्स्पो सोमवार सकिदैछ ।

You might also like

Comments are closed.