नेपाल चाइल्डहुड क्यान्सर एलायन्सले सुरु गर्यो क्यान्सर पीडित बालबालिकालाई छात्रवृत्ति

काठमाडौं । नेपाल चाइल्डहुड क्यान्सर एलायन्सले ईन्टरनेशनल क्यान्सर सर्भाइभर डे को अवसरमा बाल क्यान्सरबाट बाँच्न सफल भएका १४ जना किशोर किशोरीलाई ६ लाख नेपाली रुपैयाँ बराबरको शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।

रमेश गुप्ता स्मृति प्रतिष्ठान, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सर, लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसन, तथा वल्र्ड चाइल्ड क्यान्सरको सहकार्यमा कार्यक्रम सुरु गरिएको हो । यस कार्यक्रमले क्यान्सरबाट बाँच्न सफल बालबालिका, उनीहरूको परिवार, डाक्टरहरू, नर्सहरू र प्रमुख सरोकारवालालाई छात्रवृत्ति वितरणमा सहभागि हुने अवसर प्रदान गरेको थियोे । कार्यक्रममा क्यान्सबाट बाँच्न सफल बालबालिकाले आफ्नो साहस र आशाले भरिएका प्रेरणादायी कथाहरू सुनाएका छन् ।

कार्यक्रमका प्रमुख वक्ता डा. विश्वनाथ अधिकारी, कान्ति बाल अस्पतालका बाल क्यान्सर विशेषज्ञले उपचारपछिको निरन्तर निगरानीको महत्वमा जोड दिँदै नियमित फलोअप क्यान्सरमुक्त भविष्यका लागि अनिवार्य रहेको बताए । टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सरका बिशप जोशीले शिक्षा बाल क्यान्सरबाट बाच्न सफल बालबालिकाका लागि जीवन परिवर्तनकारी हुने र शिक्षाले उनीहरूलाई सशक्त बनाउनुका साथै समाजलाई क्यान्सरसँग जोडिएको कलंक हटाउन सहयोग पु¥याउने बताए ।

कान्ति बाल अस्पतालको बाल क्यान्सर वार्डकी नर्सिङ इन्चार्ज रमा पराजुलीले बालबालिकाको उपचारमा आमाबाबुको साहसिक भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताइन् । रमेश गुप्ता स्मृति प्रतिष्ठानका कार्यक्रम प्रमुख भावनाथ झाले दिर्घकालीन स्रोत र लगानीको आवश्यकता औंल्याउँदै हामी सबैको साझा लक्ष्य भनेको उपचार र जीवन पुनःनिर्माणमा रहेका परिवारहरूलाई समग्र रूपमा साथ दिनु रहेको बताए ।

छात्रवृत्ति प्राप्त सदिक्षा तामाङकी आमा हरिमाया तामाङले छोरीलाई क्यान्सर भएको खबरले म विचलित भएँ, आर्थिक बोझ कसरी थेग्ने भन्ने थाहा थिएन नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको साथले आत्मबल बढेको जनाइन् । वल्र्ड चाइल्ड क्यान्सर नेपालका कार्यक्रम संयोजक सम्राट रायमाझीले १४ बालबालिकाको उपचारपछि पनि उनीहरूलाई स्वस्थ र खुसी जीवनतर्फ अघि बढाउन प्रतिबद्ध रहेको जनाए ।

लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसनका प्रवत्ता रोजिना मानन्धरले सर्भाइभर डे केवल उत्सव मात्र होइन, कुनै पनि बालबालिकाले क्यान्सरसँग एक्लै लड्न नपरोस् भन्ने सन्देश पनि रहेको बताएकीछिन् । सरकारी निकाय, स्वास्थ्य संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन बीचको बलियो सहकार्यमार्फत नेपाल चाइल्डहुड क्यान्सर एलायन्सले नेपालको बाल क्यान्सर परिदृश्य परिवर्तन गर्न प्रतिबद्धता जनाएको छ ।

एलायन्सले सबै सरोकारवालालाई आह्वान गर्दै क्यान्सरविरुद्धको यात्रामा कुनै पनि बालबालिका पछाडि नपरोस् भन्ने उद्देश्यमा एकजुट हुन आग्रह गरेको छ । यो छात्रवृत्ति कार्यक्रम सन् २०२५ फेब्रुअरी १६ मा भएको नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको औपचारिक उद्घघाटनपछिको प्रमुख पहल हो । क्यान्सरबाट बाँचेका बालबालिकाको दिर्घकालीन पुनःएकीकरण र पुनःस्थापनालाई समर्थन गर्नेछ ।

You might also like

Comments are closed.