काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व तीजको अवसर पारेर नेपाल डेरी एसोसिएसनले आफ्नो केन्द्रीय कार्यालय संखमुलमा ‘दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ ।
तीजलाई मौलिक संस्कार, सभ्यता र भव्यतापूर्वक मनाउनुपर्नेमा जोड दिँदै यस वर्ष एसोसिएसनले महिलामुखी अभियानलाई अझ प्रभावकारी बनाउन ‘घ्यु अभियान’ को सुरुवात गरेको हो । यस अभियानअन्तर्गत तीजमा उपस्थित अतिथि र सम्पूर्ण महिला सदस्यलाई उपहारस्वरूप घ्यु वितरण गरिएको छ ।
नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दिपप्रसाद धमलाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभाका उपसभामुख अपसरा चापागाईले तीज महिलाको मात्र पर्व नभई समाजमा सद्भाव, आपसी सहयोग र सम्मानको सन्देश दिने पर्व भएकाले यसलाई भड्किलो भन्दा सभ्य र मौलिक शैलीमा मनाउनुपर्ने बताइन् ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेश श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाँ, पदाधिकारी, नेपाल कृषि तथा पशुपन्छी व्यवसायी महासंघका महासचिव श्रीकृष्ण भण्डारी, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल निर्यात महासंघ, रोटरी क्लब कपन, दृश्य बहुउद्देश्यीय सहकारी संस्था, अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेन्युरलगायतका संघ–संस्थाका पदाधिकारी तथा महिला सदस्यहरूको उल्लेख्य सहभागिता थियो ।
यस्तै, निवर्तमान योजना आयोगका सदस्य दिपेन्द्र श्रेष्ठ र अनाजका अध्यक्ष किरण आचार्य पनि कार्यक्रममा उपस्थित रहेका थिए । कार्यक्रममा डेरी एसोसिएसनका उपाध्यक्ष मनोज घिमिरेले स्वागत गर्दै कार्यक्रमको उद्धेश्यबारे बताएका छन् । बागमती प्रदेशका निवर्तमान योजना आयोगका सदस्य दिपेन्द्र श्रेष्ठले महिला सशक्तिकरण मात्र नभई दुग्ध व्यवसाय प्रवद्र्धनमार्फत देशको समग्र विकासमा समेत योगदान पु¥याइरहेको उल्लेख गरे ।
नेपाल डेरी एसोसिएसनले यसअघि ‘मोहि अभियान’ सफलतापूर्वक सञ्चालन गरेको अनुभवलाई निरन्तरता दिँदै यसपटक ‘घ्यु अभियान’ सुरू गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघका नरेशलाल श्रेष्ठले एसोसिएसनको प्रशंसा गर्दै महासंघ सधैं साथमा रहने बताए । एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले सबैले यसरी साथ दिनाले नै एसोसिएसन आज उत्साहका काम गर्न सकेको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी नै एसोसिएसनले आफ्ना गतिविधि गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसनको तर्फबाट तीजको शुभकामना व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद दिएका छन् । मोही अभियानको अपार सफलतापछि अब घ्यू अभियानमा लागेको कुरा जानकारी गराउँदै घ्यू उपभोग गर्दा हुने फाइदाकोबारे जानकारी गराए । साथै अब सबैले बिहान बेलुका खाना खाँदा घ्यु खान, तरकारीमा घ्यूकै भुटुन हाल्न अनि बालबालिकालाई अनिवार्य घ्यु सेवन गराउन आह्वान गरेका छन् ।
कार्यक्रममा सहभागीले यस्ता अभियानले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने मात्र नभई महिलामुखी पर्वमा आत्मनिर्भरता र मौलिक परम्पराको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
Comments are closed.