काठमाडौं । विश्व दूध दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका–९ स्थित ब्रेनल्याण्ड एकेडेमी स्कुलमा सचेतनामूलक अन्तरविद्यालय स्तरिय कविता प्रतियोगिता सम्पन्न भएको छ । नेपाल डेरी एसोसिएसनको आयोजना तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा ‘दुधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा उपत्यकाका १८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ३६ जना विद्यार्थीले दूध तथा दुग्धजन्य पदार्थको मौलिक उपयोगिता, यसका सामाजिक, आर्थिक पक्षलाई समेत कवितामार्फत् प्रस्तुत गरेका छन् । अधिकांश विद्यार्थीले आफ्नो कवितामा कृषि प्रधान देश र पशुपालन व्यवसायी नेपालीको मौलिक पेशा व्यवसाय रहेकोमा हाल आएर कृषिमा बढ्दै गएको परनिर्भरताले वर्तमान देशको आर्थिक तथा वैदेशिक व्यापार घाटाको अवस्थालाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका थिए ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभाका सदस्य जयराम थापा रहेका हुन् । प्रमुख अतिथि थापाले दूध पूर्ण पौष्टिक आहार भएकाले यसको सेवन सबैमा अनिवार्य रहेको बताए । दुग्ध क्षेत्रले देशको अर्थतन्त्रमा समेत ठूलो टेवा पु¥याएको छ र यसरी बालबालिका बीच दूध तथा दुग्धजन्य पदार्थको बारेमा जानकारी गराउँदै प्रदेश सरकार कृषि तथा पशुपन्छी सहित दुग्ध क्षेत्रको विकासका लागि सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसन विगत १२ वर्ष देखि निरन्तर दूध तथा दुग्धजन्य पदार्थको मौलिक उपभोग तथा व्यवासायिकरणमा क्रियाशिल रहेको बताए । प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका सदस्य डा. दिपेन्द्र श्रेष्ठले विद्यालयस्तरमा विद्यार्थीलाई दुग्धजन्य पदार्थको उपयोग बारेमा सचेत गराउँदै लैजान सकेमा आगामी दिनमा यसको नीतिगत सुधार र कार्यक्रमगत सुधारका लागि सौहार्द्रपूर्ण वातावरण बन्ने विश्वास व्यक्त गरे ।
कवितामार्फत् कृषि तथा पशुपालन र दुग्धजन्य पदार्थका महत्वको बारेमा विद्यार्थीले अभिव्यक्त गरेका भावनाहरु अत्यन्तै प्रभावकारी रहेको हुदा आगामी दिनमा नयाँ पिँढीलाई स्वस्थकर दुग्धजन्य पदार्थको प्रयोग र उपयोगितामा सकारात्मक प्रभाव पर्ने राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले कविता प्रतियोगिताले समग्र कृषि क्षेत्रमा नयाँ पिढीका विद्यार्थीको दृष्टिकोणलाई प्रतिनिधित्व गरेको बताए ।
प्रतियोगितामा सहभागी प्रतिष्पर्धी विद्यार्थीमध्ये इन्टरनेशनल जोसेफ पब्लिक स्कुलका छात्रा भावना बराल उत्कृष्ट प्रथम कविता वाचकको रुपमा विजयी भइन् । प्रतियोगितामा सेन्ट जर्ज विद्यालय काठमाडौं महानगरपालिका–५, विशालनगरका छात्र आर्यन शाही द्धितिय, युरेका हाई स्कुल नेपालटारका छात्रा जेसिका थापा तृतीय भएका छन् । कार्यक्रम संयोजक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रमेश सञ्जेलले सहभागीलाई स्वागत गरेका हुन् ।
Comments are closed.