काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा खीर प्रवर्द्धन कार्यक्रम भएको छ । साउन १५ को सांस्कृतिक र कृषि महत्वलाई उजागर गर्ने उद्देश्यले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी खीर प्रवर्द्धन कार्यक्रम गरिएको हो ।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका हुन् । अध्यक्ष दाहालले साउन १५का दिनमा परम्परागत आहारका रुपमा मात्रै नभई स्वास्थ्यको दृष्टिकोणले समेत लाभदायिक रहेको खीर नेपालीको एक मौलिक खाद्य परिकार रहेको बताए ।
यस्ता कार्यक्रमले दुग्ध व्यवसायको मूल्य र महत्व उजागर गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । नेपाली मौलिक खीर हाम्रो मौलिक परम्पराको अभिन्न अंग भएको उल्लेख गर्दै उनले त्यसको संरक्षण र प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष ढकालले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण तथा दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने आवश्यकता औंल्याउँदै यस्ता सांस्कृतिक कार्यक्रमले कृषि र डेरी क्षेत्रमा गरिने योगदानप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने बताए । यस क्षेत्रको आधुनिकीकरण तथा व्यवसायिकरण रुपान्तरणकारी कार्यले नेपालको दूध तथा दुग्धजन्य पदार्थको अन्तर्राष्ट्रियकरण तथा बजारीकरणमा प्रचुर सम्भावनाको अवसर रहेको उनले औल्याए ।
“पछिल्लो समय देशमा आन्तरिक उत्पादन र व्यवसायीकरणको अवस्था राम्रो भएतापनि हाल पनि अन्तर्राष्ट्रियस्तरको शुद्धता र गुणस्तरीय युक्त डेरी प्रोडक्टस् ठूलो मात्रामा आयात हुनु स्थानीय किसान तथा डेरी व्यवसायको लागि दुःखद पक्ष भएको छ” उनले भने ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, कृषि उद्यम केन्द्रका सभापति डी.बी. खड्का, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादव, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा मातहतका वस्तुगत संघका अध्यक्षले लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिएका छन् ।
रोटरी क्लब अफ कपन, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्स, युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल, कृषि उद्यम केन्द्रलगायत विभिन्न संस्थाको सहकार्य रहेको कार्यक्रममा मौलिक खाद्य परिकार खीरको सांस्कृतिक र पोषण महत्वबारे छलफल भएको छ । बालबालिकालाई दूध तथा खीर खुवाएर कार्यक्रमको शुभारम्भ गरिएको हो ।
प्रत्येक शनिवार निशुल्क मोही कार्यमा निःशुल्क दही वितरण गर्ने १६ जना दुग्ध व्यवसायी र विश्व पारा एथ्लेटिक्स च्याम्पेनशिप २०२५मा नेपालबाट सहभागी भई सफल खेलाडी प्रभा आङदेम्बे र हिमाल आर्याललाई सम्मान गरिएको छ । एसोसिएसनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गतेको बैठकले साउन १५लाई ‘खीर खाने दिन अर्थात् खीर दिवस’ का रूपमा मनाउने निर्णय गरेसंगै एसोसिएसनले नेपाली खीर प्रवर्द्धन कार्यक्रम–२०८२ आयोजना गरेको हो । यस अवसरमा एसोसिएसन अन्र्तगत प्रदेश तथा जिल्ला कार्यसमिति आयोजना गरिएको छ ।
दूध तथा दुग्ध पदार्थको प्रवद्र्धन र समग्र विकासमा नेपाल डेरी एसोसिएसनले लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । देशभरका घरेलु, साना, मझौला तथा ठूला डेरी उद्योगहरुको छाता संगठनका रूपमा सक्रिय यस एसोसिएसनले नीतिगत सुधारका लागि निरन्तर पहल गरिरहेको छ । किसान र उद्योगको हकहितमा समेत आवाज उठाउँदै आएको छ ।
Comments are closed.