व्यवसायीहरु समयअनुसार अपडेट हुनुपर्छ

सञ्जिव देउजा, केन्द्रीय सदस्य

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ
नेपालको निर्माण क्षेत्रमा हेभी इक्विपमेन्टको भूमिका अपरिहार्य बन्दै गएको छ । यद्यपि, यस व्यवसायलाई समय, प्रविधि र आवश्यकता अनुसार निरन्तर अपडेट गर्नु अत्यावश्यक छ ।

विदेशतिर कामको जिम्मा कन्ट्रयाक्टरले टेण्डरमार्फत लिन्छन् र आवश्यक उपकरणका लागि सप्लायर्ससँग कोटेसन मागेर सोही आधारमा काम गर्छन् । यसरी व्यवस्थित ढंगले गरिएको काम समयमै सकिन्छ र गुणस्तरीय हुन्छ । जसको फलस्वरूप व्यवसायीले भुक्तानी पनि समयमा पाउने गर्छन् । नेपालमा पनि यस्ता अभ्यासलाई आत्मसात् गर्न आवश्यक छ ।

हाल व्यवसायीले ब्याकहो लोडर, स्काभेटर, रोलर लगायतका उपकरण घण्टा, दिन वा महिनाका आधारमा भाडामा लगाउने गरेका छन् । तर निर्माणका फरक–फरक खालका कामका लागि छुट्टै मेसिन आवश्यक हुन्छ । जस्तै, कङ्क्रिटिङका लागि कङ्क्रिटिङ मेसिन, अस्फाल्टका लागि अस्फाल्ट मेसिन र ठूला आयोजनाका लागि विशेष किसिमका उपकरण अपरिहार्य हुन्छन् ।

यी सबै उपकरण नेपालमै उपलब्ध गराउन सक्ने हो भने भारत वा चीनबाट ल्याउनुपर्ने बाध्यता हट्नेछ र ठूलो मात्रामा हुने पुँजी पलायन रोक्न सकिन्छ । यस्तै, व्यवसाय चलाउन मेसिनको दिगोपन पनि महत्वपूर्ण हुन्छ । कतिपय अवस्थामा भाडामा लगाइएका मेसिन बिग्रिने, समस्या देखिने र काम रोकिएर व्यवसायीलाई घाटा हुने गरेको पाइन्छ ।

यस्तो अवस्था आउन नदिन मेसिनको नियमित जाँच, पाट्र्स मर्मत तथा मर्मतसम्भारमा ध्यान दिनु अनिवार्य छ । गुणस्तरीय काम समयमा सम्पन्न गर्न सकिने हो भने व्यवसायमा विश्वास बढ्नेछ, लगानीको प्रतिफल उत्कृष्ट आउनेछ र हेभी इक्विपमेन्ट व्यवसाय दिगो रूपमा अघि बढ्नेछ ।

You might also like

Comments are closed.