प्रदेश भेलाले व्यवसायीको समस्या उजागर गर्दै समाधानमा भूमिका खेल्नेछ

उमाकान्त शर्मा, अध्यक्ष, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ

नेपाल हेभी इक्विमेन्ट व्यवसायी महासंघले सातै प्रदेश तथा जिल्ला संघहरुको भेला तथा अधिवेशन गर्ने तयारी गरेको छ । यसैक्रममा गण्डकी प्रदेशस्तरीय भेला तथा अधिवेशन एवं महासंघ केन्द्रीय कमिटिको चौथो पूर्ण बैठक आज पर्यटकीय नगरी पोखरामा हुँदैछ । यसैक्रममा महासंघका अध्यक्ष उमाकान्त शर्मासँग गरिएको कुराकानीः

भदौ २ गते पोखरामा गण्डकी प्रदेशस्तरीय भेला तथा अधिवेशन एवं केन्द्रीय कमिटिको चौथो पूर्ण बैठक हुँदैछ । यो कार्यक्रमको महत्व कस्तो छ ?

यो भेला हाम्रो महासंघको लागि निकै महत्वपूर्ण छ । गण्डकी प्रदेशका व्यवसायीलाई एक स्थानमा भेला गरेर आपसी अनुभव आदान–प्रदान, समस्या र समाधानबारे प्रत्यक्ष छलफल गर्ने अवसर हुनेछ । सोही अवससरमा हामीले विचार गोष्ठी पनि पनि आयोजना गरेका छौं । यसैसँगै केन्द्रीय कमिटिको चौथो पूर्ण बैठक पनि हुनेछ, जसले आगामी कार्ययोजना र नीति तय गर्नेछ । पोखरा जस्तो पर्यटकीय शहरमा कार्यक्रम हुनु स्वयं एक प्रेरणादायी कुरा हो, किनकि यसले प्रदेश र राष्ट्रिय दुवै तहमा हाम्रो उपस्थिति मजबुत बनाउँछ ।

भेलालाई सफल बनाउन के–कस्ता तयारीहरू भइरहेको छ ?

केन्द्र, प्रदेश र कास्कीसहितका जिल्लास्तरीय सबै संरचनाले संयुक्त तयारी गरिरहेका छन्  । स्थान चयन, कार्यक्रम व्यवस्थापन, सहभागी व्यवसायीहरूको सहजताका लागि बसोबास, यातायातको व्यवस्था र छलफलका विषयहरूमा पूर्व तयारी भएका छन् । आवश्यक सबै तयारीमा हामीले विशेष ध्यान दिएका छौं । हामी चाहन्छौं कि पोखराको कार्यक्रममा सहभागी भएर फर्कने प्रत्येक व्यवसायीले यहाँबाट उपयोगी ज्ञान र व्यावहारिक समाधान बोकेर घर फर्कनेछन् ।

हाल महासंघको प्राथमिक कार्यसूचीमा के–के विषय छन् ? 

व्यवसायीहरूको हकहितको सुरक्षा, उपकरणको दिगो प्रयोग र भाडा प्रणालीलाई व्यवस्थित बनाउने र करसम्बन्धी अन्यायपूर्ण दबाब हटाउने हाम्रो प्राथमिकतामा छन् । पोखराको भेलामा यी विषयहरूमा ठोस निर्णय निकाल्ने छौं । साथै, जिल्लास्तरीय संगठन विस्तारलाई तीव्रता दिने योजना पनि यो बैठकबाट टुंगो लगाइनेछ ।

हेभी इक्विपमेन्ट व्यवसायमा देखिएका समस्याहरू यस भेलामा कसरी सम्बोधन हुनेछ ?

समस्या त धेरै छन् । कामको कमी, उपकरणको सुरक्षा, अनावश्यक करभार, भाडा रकम उठाउनको कठिनाइ र ट्राफिक नियम सम्बन्धी अवरोध लगायत धेरै समस्या छन् । भेलामा यी सबै विषयमा प्राविधिक, कानुनी र नीतिगत सिफारिस तयार गर्नेछौं । यी सिफारिसहरूलाई सरकार, मन्त्रालय र सम्बन्धित निकायमा पु¥याउने हाम्रो योजना छ  ।

व्यापारको वर्तमान स्थिति र भविष्यको सम्भावना कस्तो देख्नुहुन्छ ?

अहिले व्यापार केही सुस्त छ, तर ठूला पूर्वाधार परियोजना, हाइड्रोपावर र सडक विस्तारका कामसँगै फेरि अवसर बढ्नेछ । हामी पुराना उपकरणलाई मर्मत वा सट्टापट्टा गरेर दक्षतापूर्वक प्रयोग गर्ने र नयाँ उपकरणमा लगानी बढाउने सुझाव दिइरहेका छौं ।

अन्त्यमा, भेलामा सहभागी व्यवसायी र सरोकारवालालाई के सन्देश दिन चाहनुहुन्छ?

यो भेला हाम्रो साझा मञ्च हो । यहाँको निर्णयले हाम्रो व्यवसायको भविष्य निर्धारण गर्नेछ ।  सबैलाई सक्रिय सहभागिताको आग्रह गर्दछु । एकजुट भएर हामी समस्यालाई अवसरमा रूपान्तरण गर्न सक्छौं । पोखरामा भेटौं, सफलतासहित फर्कौं ।

You might also like

Comments are closed.