नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघमा उमाकान्त शर्माको नेतृत्व हालै नयाँ कार्यसमिति निर्वाचित भएको छ । महासंघले देशभरका हेभी इक्विपमेन्ट व्यवसायीलाई एउटै छातामा जोड्दै उनीहरुको हकहितमा काम गर्दै आइरहेको छ । संस्थाले हेभी इक्विपमेन्टको क्षेत्रमा काम गर्ने व्यवसायीको आवाज उठाउने, उनीहरुका समस्या समाधानमा सम्बन्धित निकायमा जानकारी दिने र समस्या समाधानमा पहल गर्ने काम साङ्गठनिक बलमा गरिरहेको छ । यसै सन्दर्भमा महासंघका अध्यक्ष शर्मासँग आर्थिक आवाजका लागि गरिएको संक्षिप्त कुराकानी प्रस्तुत छ :
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघमा कस्ता सदस्य आबद्ध छन् ?
निर्माणजन्य क्षेत्रमा काम गर्ने तथा विकास निर्माणमा प्रयोग हुने मेसिनहरु सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन नै नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ हो । सडक, विद्युत्, हाइड्रोपावर, भवन निर्माण लगायतका विकास निर्माणमा प्रयोग हुने हेभी इक्विपमेन्टहरु सञ्चालन गर्ने सबै प्रकारका व्यवसायीहरु हामीसँग आबद्ध छन् । तिनै व्यवसायीहरुका हकहितका लागि काम गर्न साङ्गठित रुपमा संस्था गठन गरेर काम गरिरहेका छौं । निर्माणसँग सम्बन्धित जहाँ हेभी इक्विपमेन्ट जोडिएका हुन्छन्, जुनसुकै क्षेत्र पर्दछन् । यसको क्षेत्र फराकिलो छ । समग्रमा निर्माणजन्य क्षेत्र भनेर बुझ्दा हुन्छ ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तपाईंको नेतृत्वमा छ । अब यो क्षेत्रमा के–कस्ता काम गर्नुपर्ने देख्नुभएको छ ?
मेरो नेतृत्वमा हालसालै नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ गठन भएको छ । व्यवसायी, सल्लाहकार, बुद्धिजीवी, सरोकारवालाले मलाई महासंघको नेतृत्व सुम्पिनुभएको छ । यसले मेरो जिम्मेवारी थपिएको महसुस भएको छ । मेरो नेतृत्वको नयाँ कार्यसमितिले आफ्नो काम थालिसकेको छ । तत्काल देशभर रहेका व्यवसायीलाई सङ्गठित गर्ने अभियान अगाडि बढाइसकेका छौं । व्यवसाय के हो ? इक्पिमेन्ट के हो ? यससँग परेका समस्या के–के हुन् ? यसमा सम्बन्धित सरोकारवाला को–को हुन् सक्छन् ? यस्ता विषयमा अभिमुखीकरण गर्नुपर्ने देखिन्छ । आर्थिक वर्ष २०८१÷०८२ पनि सम्पन्न भइसकेको छ भने नयाँ आ.व. ०८२÷०८३ भित्रमा देशका सबै जिल्लामा सङ्गठन निर्माण गठन हुनेछन् । जिल्ला सङ्गठनलाई सक्रिय बनाएर काम गरिनेछ । हरेक जिल्लामा हाम्रा सेवाग्राही र स्टेकहोल्डरले उपकरणजन्य सामग्री खोजे भने तुरुन्त उपलब्ध गराउन सक्ने खालको जुझारु सङ्गठन बन्नेछन् ।
हेभी इक्विपमेन्ट व्यवसायसँग सम्बन्धित समस्याहरु के–के छन् ?
हेभी इक्विपमेन्ट व्यवसायको क्षेत्रमा कुरा गर्ने हो भने समस्या नै समस्या छन् । यो क्षेत्रमा आबद्ध व्यवसायीले काम गर्ने क्रममा विभिन्न समस्या तथा चुनौती झेल्नु परेको अवस्था छ । काम नपाउनु, व्यवसायीलाई अनावश्यक रुपमा विभिन्न बाहना बनाएर करको भार थोपर्नु, ट्राफिक प्रहरीले दिने समस्या, उधारोको समस्या लगायतका विभिन्न समस्याले यस क्षेत्रमा जोडिएका व्यवसायीलाई व्यवसाय निल्नु न ओकल्नु जस्तै बनेको छ । व्यवसायीले काम नपाउँदा लाखौँ मूल्यमा खरिद गरेका उपकरण प्रयोगमा आउन सकेका छैनन् । एकातिर काम नपाउने समस्या छ भने अर्कोतिर उपकरण बिग्रने समस्याले नराम्रोसँग व्यवसायीमाथि पीडा थपिएको छ । केही व्यवसायीले मेसिन भाडामा लगाएर काम गरेतापनि त्यो प्रयाप्त छैन ।
हेभी इक्विपमेन्ट व्यवसायमा देखिएका समस्या समाधानका लागि कस्तो कदम चाल्नुहुन्छ ?
हाम्रो उद्देश्य भनेकै हेभी इक्विपमेन्ट व्यवसायको हकहित र यो क्षेत्रमा देखिएका समस्या समाधान गरेर निकास दिने हो । हामी यस कुरामा दृढ भएर लागेका छौँ । यो क्षेत्रमा आउने जस्तोसुकै समस्यासँग हामी जुँध्न तयार छौँ । ठूला–ठूला परियोजनाहरु, कार्यक्रममा हाम्रा उपकरणहरु हेभी इक्विपमेन्ट व्यवसायी महासंघमार्फत एकले अर्कोलाई सम्पर्क बिस्तार गर्दै मेसिन भाडामा लगाउने मुख्य काम नै हाम्रो हो । दोस्रो काम भनेको उपकरण भाडा लेनदेनका कुरा पर्छन् । उठ्न नसकेका रकम उठाउन तदारुकताका साथ लागिरहेका छौं । सडकमा नगुडेका उपकरणको अनावश्यक राज्यलाई कर तिर्नु परिरहेको छ । उपकरण नै प्रयोगमा आएका छैनन् । व्यवसायीले कहाँबाट आर्थिक स्रोत जुटाएर कर तिर्ने हो ? यस्ता समस्या व्यवसायीका लागि पीडादायी बनिरहेको छ । कर तथा समग्रमा हेभी इक्विपमेन्ट व्यवसायका सम्बन्धमा हामीले हालसालै भौतिक पूर्वाधार मन्त्रीसमक्ष भेटेर ज्ञापनपत्र बुझाएका छौँ । आगामी दिनमा पनि व्यावसायिक हितमा निरन्तर आवाज बुलन्द गर्नेछौं ।
हेभी इक्विपमेन्टको क्षेत्रमा कम व्यापार छ भन्ने कुरा व्यवसायीबाटै उठिरहेको छ, के साँच्चिकै व्यापार घटेकै हो ?
व्यापारको स्थिति हेर्ने हो भने अहिले निकै कम छ । सरदरमा २०६० को दशकमा व्यापार राम्रै थियो । ०६८ देखि ०७० को अवधीमा उपकरण धेरै खरिद बिक्री भए । धेरै उपकरण खरिद बिक्री भएको यहीँ अवधी नै हो भन्दा पनि हुन्छ । अहिले ती सबै उपकरण हामीसँग पूराना भए । त्यतिबेला ब्यापार राम्रो थियो, अहिले निकै कम छ । पूराना मेसिनलाई सट्टापट्टा गरेर नयाँ बनाएर बलियो बनाउन व्यवसायीलाई हामीले सुझाव दिइरहेका छौँ । प्रयोगमा नआएका, काम नलाग्ने त्यस्ता पूराना उपकरणलाई परिवर्तन गरेर नयाँ उपकरण थपेर लगानीको बाटो बनाउन संबद्ध व्यवसायीलाई हाम्रो अनुरोध छ । आशावादी छौं आगामी दिनमा व्यापारमा क्रमशः सुधार हुनेछ ।
उपकरणको सुरक्षामा कत्तिको चुनौति देख्नुहुन्छ ?
यो क्षेत्रमा प्रयोग हुने विभिन्न उपकरणको सुरक्षाको चुनौती छ । लाखौँ मूल्य खर्चेर उपकरण खरिद गरिएको हुन्छ । ती उपकरण सुरक्षित स्थानमा राख्ने ठाउँ छैन । हेभी इक्विमेन्टका उपकरण ट्राफिक प्रहरीले देख्यो कि लखेटिहाल्छ । हेभी इक्विपमेन्ट प्रयोग गरेर ठूला–ठूला संरचना तयार पारिएका हुन्छन् तर ती उपकरण सुरक्षित रुपमा राख्ने ठाउँ नहुनु हाम्रो लागि दुःखको विषय बनेको छ । निश्चित स्थानमा राख्ने व्यवस्था नहुँदा नोक्सानी हुने डर छ । उपकरणको सुरक्षाको लागि सरकारसँग तथा स्थानीय सरकारसँग एक ठाउँमा राख्ने ठाउँ उपलब्ध गराउन हाम्रो माग छ । काम सकेपछि तोकेको निश्चित स्थानमा उपकरणहरु सुरक्षित रुपमा थन्किनेछन् । बाढी पहिरो जस्ता भैपरी आउने घटनालाई मध्यनजर गर्दै सर्तक भएर सम्भावित क्षेत्र नजिकै सुरक्षित रुपमा उपकरण राख्ने व्यवस्था गरियो भने छिटो उद्धार तथा राहतका काम हुन्छन् । यसमा सम्बन्धित निकायले सोँच्न जरुरी छ । सानो कुरामा पनि उपकरणको प्रयोग हुन थालेको अवस्था छ । यस्ता उपकरणको सुरक्षाको लागि निश्चित स्थानको व्यवस्था गरिनुपर्दछ ।
अन्त्यमा, के भन्नुहुन्छ ?
अबको विकासको आधार भनेको विशेषगरी सडक, विद्युत्, पूर्वाधार, ठूला–ठूला हाइड्रोपावर जस्ता परियोजनाहरु, रेलवे, कन्स्ट्रक्सनहरु, बिल्डिङ हुन् । हाम्रा सरोकारवाला ग्राहक भनेका निर्माण व्यवसायी, हाइड्रोपावर सञ्चालक, परियोजना सञ्चालक, रेलवे, कन्स्ट्रक्सन, व्यक्तिगत रुपमा जसले आफ्नो भवन बनाइरहनुभएको छ उहाँहरु नै हो । जग खन्ने जस्ता सामान्य कुरामा पनि हाम्रा व्यवसायसँग सम्बन्धित ग्राहकहरु हुनुहुन्छ । उहाँहरुलाई हामीले सजिलै उपकरणहरु उपलब्ध गराउनका लागि देशभरी नै हरेक जिल्लामा समन्वयका लागि एउटा सम्पर्क स्थानको व्यवस्था गर्नेछौँ । ती सम्पर्क स्थानबाट व्यवसायीलाई सजिलैसँग उपकरणहरु सुपथ मूल्यमा उपलब्ध हुनेछन् । सहकार्य गरेर बृहत् रुपमा हामी व्यवसायीको लागि अगाडि बढ्ने प्रण गरेका छौँ ।
Comments are closed.