नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने बताइएको छ ।

संघका अध्यक्ष संजय अग्रवालले नेपाल–इटालीबीच ६ दशकभन्दा बढीको व्यापारिक सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाका संरक्षक राजेशकाजी श्रेष्ठ, मानार्थ वाणिज्य दूत प्रतिमा पाण्डेलाई विशिष्ट सम्मानस्वरूप कदरपत्र, अशंक समसेर जंगबहादुर राणालाई २०२४ का ‘वर्षको उत्कृष्ट सदस्य’ को रूपमा सम्मानित गरिएको छ ।

संघका महासचिव मनोज श्रेष्ठले स्वागत गर्दै नेपालको सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनर्निर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै यो सहकार्य दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास गरेका छन् । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्ष रुपक राजवंशी र उपाध्यक्ष मनोजकुमार ज्ञवाली लगायत सहभागी थिए ।

संघ आफ्नो विभिन्न पहलमार्फत द्विपक्षीय व्यापार प्रवद्र्धन, लगानी अवसरको विस्तार तथा नेपालमा इटाली पर्यटन प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको छ । यस सभाले नेपाल र इटालीबीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउने अर्को महत्वपूर्ण उपलब्धिको संकेत गरेको छ ।

 

You might also like

Comments are closed.