काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गरेको छ । यस श्रेणीमा पर्ने संस्थालाई अत्यन्तै उच्च स्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ ।
यो रेटिङ प्राप्त गर्ने यस इन्स्योरेन्स जीवन बीमा क्षेत्रमै पहिलो जीवन बीमा कम्पनी बनेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गरेको हो ।
सन् २००१ मा स्थापित कम्पनीले हाल देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै आ.व. ०८१/८२ को असार मसान्त सम्ममा कुल बीमा शुल्कको हिसाबले २७ प्रतिशत भन्दा बढी बजार हिस्सा कायम गर्न सफल भएको छ ।
कम्पनीको सोल्भेन्सी अनुपात १५०.४० प्रतिशत रहेको छ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम अनुपात भन्दा बढी हो । कम्पनीले करिब ९४ प्रतिशत लगानी स्थिर ब्याज दिने उपकरणमा गरेको छ । जसले असार मसान्त सम्ममा औसत १०.०२ प्रतिशत प्रतिफल प्रदान गरेको छ ।
आ.व. ०८०/८१ मा कम्पनीले रू. २.१२ अर्ब खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८ प्रतिशत प्रतिफल रहेको थियो । नेपाल लाइफले आफ्नो जोखिम सन्तुलन गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन पुनर्बीमा लिमिटेड र ह्यानोभर रि (जर्मनी)सँग पर्याप्त पुनर्बीमा गरी आकस्मिक क्षतिबाट हुने सुरक्षा सुनिश्चित गरेको छ ।
जीवन बीमा क्षेत्रको अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थापन टोलीको नेतृत्वबाट कम्पनीले ग्राहकको विश्वास, पारदर्शिता र दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्दै आएको छ । यस उच्च रेटिङले नेपाल लाइफको विश्वसनीयता, स्थिरता, सशक्त नेतृत्व र बजारमा अग्रस्थान कायम राख्ने क्षमतालाई पुष्टि गर्दछ ।
कम्पनीको करिब ९८.८० प्रतिशत व्यवसाय सर्वाधिक जीवन बीमामा आधारित रहेको छ । जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पु¥याएको छ । साथै आ.व.०८१/८२ को असार मसान्तसम्म कम्पनीले करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको विपद् कोष सुरक्षित राखेको छ । जुन कम्पनीको व्यवसायिक आकार अनुसार पर्याप्त छ । त्यस्तै कम्पनीको २३३ अर्ब भन्दा माथिको जीवन बीमा कोष र २४० अर्ब भन्दा माथिको लगानी रहेको छ ।
कम्पनीले असार मसान्त सम्ममा ६७ अर्ब भन्दा माथिको दावी भुक्तानी गरेको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले डबल ए माइनस रेटिङ प्राप्त गरेकोमा कम्पनीलाई यस रेटिङ प्राप्त गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिए ।
साथै कम्पनीले आफ्नो वित्तीय स्थायित्वलाई झन् सबल र सुदृढ बनाउनका निम्ति जोखिम न्यूनीकरणका उपकरणको अधिकतम प्रयोग गर्ने तथा लगानी विविधिकरणलाई प्राथमिकतामा राख्दै लगानीको प्रतिफललाई स्थिर र उच्च बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासको प्रयोग गर्न कम्पनी कटिबद्ध रहेको बताए ।









Comments are closed.