काठमाडौं । बढी तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज (आईतबार) २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । यो रकम राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रणालीद्वारा खिच्ने भएको हो ।
अहिले मुलुकको कुल निक्षेप ७२ खर्बभन्दा माथि पुगेको छ । वित्तीय प्रणालीमा देखिएको दीर्घकालीन तरलता र ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । निक्षेप बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले पेश गरेको ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने प्रस्तावलाई प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
यस पटकको निक्षेप संकलन उपकरण अन्तर्गत सावाँ तथा ब्याज रकम २०८२ असोज १२ गते भुक्तानी हुने छ ।निक्षेपका लागि न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणकमा बोल गर्न सकिने व्यवस्था छ ।
राष्ट्र बैंकले अनलाइन खरिद प्रणालीमार्फत आजै बोलकबोल गर्ने जनाएको छ भने ब्याजदर यही प्रक्रियाबाट निर्धारण हुनेछ ।
खासगरी, खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा देखिने दीर्घकालीन तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बढीमा ६ महिने अवधिका निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही आधारमा राष्ट्र बैंकले आवश्यकता अनुसार पटक–पटक निक्षेप संकलन गर्दै आएको छ।
Comments are closed.