नेपाल टेलिकमको १५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। टेलिकमले आज राष्ट्रिय सभा गृहमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो। साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

साधारण सभामा करिब ९१ दशमलव छ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

त्यसैगरी, साधारण सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेशकुमार गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

यो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको १५ औं वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड-१९ को महामारी तथा यसको प्रभाव र असरकाबिच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्षले भने, ‘आर्थिक वर्ष २०७८/७९मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बिच कम्पनीले कुल ४४ अर्ब ३७ करोड रुपैयाँ राजश्व आम्दानी गरी ८ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा १ अर्ब ३५ करोड रुपैयाँले बढी हो । यसै आ.व.मा कम्पनीले कर तथा शुल्क वापत आफ्नो कुल आयको ५९.५२ प्रतिशत अर्थात् २६ अर्ब ४१ करोड रुपैयाँ राजश्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ । कम्पनीको नाफामा सेयरधनीहरुको योगदान र लगानीको उच्च कदर गर्दै कम्पनी सञ्चालक समितिले प्रति सेयर ४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस सभामा पेश गर्ने निर्णय गरेको छ।’

You might also like

Comments are closed.