काठमाडौं । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस टावर स्थापना गरी मिति २०८२ असोज ३१ गतेदेखि 2G र 4G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
करिब ४३५० मिटर उचाइमा अवस्थित तिलिचोताल जाने पदयात्रा मार्गमा माइक्रोवेभ प्रविधिमार्फत सञ्चालित यस सेवालाई टेलिकमले नेपालका दुर्गम क्षेत्रहरूमा प्रविधि पहुँच विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ । सेवाको विस्तारसँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती हुँदै तिलिचोताल क्षेत्रका बासिन्दा र पर्यटकहरूलाई सञ्चार सम्पर्क गर्न थप सहज भएको छ । साथै, स्थानीय व्यवसायीहरूलाई डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुन समेत सघाउने टेलिकमले जनाएको छ ।
उच्च हिमाली भेगमा प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बीच सञ्चार सेवा सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि यस सेवाले पदयात्राका क्रममा आपतकालीन उद्धार र स्वास्थ्य आपतस्थितिमा जीवनरक्षक सहयोग पुर्याउने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन् ।
यसैगरी, टेलिकमले दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो–रोल्पा ट्रेकिङ रुटको अन्तिम बस्ती नागाउँमा पनि मिति असोज २८ गतेदेखि V-SAT प्रविधिमार्फत भ्वाइस सेवा सञ्चालनमा ल्याएको छ। ४१९० मिटर उचाइमा रहेको यस साइटबाट बेदिङ–ना–नागाउँ–च्छो–रोल्पा–दूधकुण्ड–यालुङ बेसक्याम्प–टासी लेप्चा पास बेसक्याम्प क्षेत्रका बासिन्दा र पर्यटकहरूले अब सहज सञ्चार सुविधा पाउने भएका छन् ।
नेपाल टेलिकमका अनुसार पर्यटकिय सिजनका कारण कामदारको अभाव र स्वास्थ्य समस्याजस्ता चुनौतीका बाबजुद प्राविधिक टोलीको अथक प्रयासले यी दुर्गम क्षेत्रमा सेवा सुचारु गर्न सम्भव भएको हो ।
संस्थानले भौगोलिक रूपमा विकट, दुर्गम र सेवा प्रवाहका दृष्टिले कठिन स्थानहरूमा पनि समान पहुँचसहितको दूरसञ्चार सेवा सुनिश्चित गर्न निरन्तर प्राथमिकता दिएको जनाएको छ । नेपाल टेलिकमले यसलाई “सबैका लागि सञ्चार, सबै ठाउँसम्म सेवा” भन्ने प्रतिबद्धताको रूपमै अगाडि बढाएको बताएको छ ।
Comments are closed.