नेपाल टेलिकमद्वारा अनलाइन केवाईसी अपडेट परीक्षण

काठमाडौं ।  नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको KYC (Know Your Customer) विवरण क्युआर कोडमार्फत लिंक प्राप्त गरी अद्यावधिक गर्न सकिने नयाँ प्रणालीको परीक्षण शुभारम्भ गरेको छ । उक्त परीक्षण हाल दूरसञ्चार कार्यालय, सुन्धारा बाट सुरु गरिएको हो ।

यस प्रणालीको परीक्षण शुभारम्भ नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे तथा प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रूपमा गरेका हुन्  ।

कार्यक्रममा बोल्दै प्रमुख व्यावसायिक अधिकृत मातन्छेले यो प्रणालीले नेपाल टेलिकमका सेवाहरूलाई थप ग्राहकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यसैगरी निर्देशक यादवले कम समयमा धेरै काम सम्पन्न गर्न सकिने भएकाले कम्पनीको समग्र उत्पादकत्वमा सकारात्मक प्रभाव पर्ने बताए ।

दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रुपान्तरण, पेपरलेस कार्यप्रणाली र ग्राहक डाटा अद्यावधिकमा यस प्रणालीले उल्लेखनीय सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

नयाँ प्रणाली अनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकहरूले ग्राहक सेवा केन्द्रमा राखिएको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण अनलाइन भर्न सक्नेछन् । उक्त विवरणका आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहक विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।

पहिलो चरणको परीक्षणमा क्युआर कोडमार्फत विवरण भर्ने सुविधा उपलब्ध गराइएको छ भने भविष्यमा नेपाल टेलिकमको वेबसाइट वा मोबाइल एपबाट समेत ग्राहक विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिने जनाइएको छ ।

हाल यो सेवा दूरसञ्चार कार्यालय, सुन्धारामा परीक्षणका रूपमा सुरु गरिएको र परीक्षण सफल भएपछि क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालय तथा उपत्यका बाहिरका कार्यालयहरूमा समेत विस्तार गरिने नेपाल टेलिकमले जनाएको छ ।

You might also like

Comments are closed.