नेपालमा पहिलो पटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल हुने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका ४ वटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५ आयोजना गर्ने भएका हुन् ।

बोर्डको सभाहलमा आइतबार भएको पत्रकार सम्मेलनमार्फत् ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ आगामी २० असोजदेखि असोज १० गतेसम्म काठमाडौं, ललितपुर, भक्तपुर र किर्तिपुरमा आयोजना हुने जानकारी गराइएको हो ।

कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले नेपालमा मात्रै नभई विदेशमा समेत यस्ता सांस्कृतिक पर्वहरूले ठूलो महत्व राख्ने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन फेस्टिबल आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

उनले कार्यक्रमहरुले स्वदेशी तथा विदेशी पर्यटक दुवैलाई आकर्षित गर्ने उद्देश्य राखेको बताएका हुन् । त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल प्रायः साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिए पनि यो फेस्टिवलमार्फत नेपाललाई सांस्कृतिक वैभव र धरोहरहरूको भण्डारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको स्पष्ट पारेका छन् ।

उनले भने, “हाम्रो विशिष्ट संस्कृतिलाई जगेर्ना गर्दै धरोहरहरूको वैभवतालाई संसारभर चिनाउनुपर्छ । यस किसिमको महोत्सवले नेपालमा पर्यटकको संख्या बढाउनुका साथै आर्थिक आम्दानीमा योगदान पु¥याउने विश्वास लिएका छौं ।”

फेस्टिवल सञ्चालन समितिका प्रमुख तथा नेपाल होटल व्यवसायी संघ (हान) का अध्यक्ष विनायक शाहले नेपाल ‘लाइफटाइम एक्सपेरियन्स’ को लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै पर्यटन र जात्रा–महोत्सव जोड्ने हाम्रो प्रयास अन्तर्गत थालिएको यस महोत्सवले एक्सपेरिमेन्टल टुरिजम्का लागि योगदान गर्ने हाम्रो विश्वास रहेको बताए । कार्यक्रम संयोजक आयुषा श्रेष्ठले तीन सातासम्म चल्ने यस महोत्सवमा ४० वटा कार्यक्रमहरु आयोजना गरिने जानकारी दिइन् ।

“नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित सुरु हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित संघ–संस्था र सरोकारवालालाई समेटेर महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार, तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यसरी, उपत्यकाका पुराना शहर– काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउन सुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.