ट्रक महासंघको अधिवेशन मङ्सीरको अन्तिममा गर्ने निर्णय

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्नो अधिवेशन तथा साधारणसभा मङ्सीरको अन्तिमसम्म गर्ने निर्णय गरेको छ । शनिबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले यसबारे औपचारिक निर्णय गरेको हो ।

बैठकले स्वदेशी तथा विदेशी ट्रकले कानूनी सीमा नाघेर अत्याधिक भारवहन गरिरहेको र यसले सडक तथा पुल संरचनामा क्षति पु¥याउनुका साथै दुर्घटनाको जोखिम बढाइरहेको निष्कर्षसमेत निकालेको छ ।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले तौलपुलमार्फत नियमित जाँच भइरहेपनि अधिकतम १५०० रुपैयाँ जरिवाना तिरेर नियोजित रूपमा ट्रकहरू बारम्बार ओभरलोड गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न विभिन्न निकायमा आउँदो दिनमा थप लबिङ गर्ने जानकारी दिए ।

मापदण्डभन्दा बढी सामान बोकेका सवारी साधनलाई निर्देशिका २०७४ अनुसार तुरुन्तै अनलोड गराई सोही ट्रकलाई यातायात कार्यालयमा चलान गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।

यसका लागि महासंघले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीलाई पत्राचार गर्दै तत्काल प्रभावकारी कदम चाल्न माग गरेको जानकारी पनि बैठकमा दिइएको छ ।

महासंघले प्रस्तुत गरेको प्रस्ताव अनुसार अत्याधिक भारवहन गर्ने ट्रकबाट सामान अनिवार्य रूपमा अनलोड गराई ट्रकलाई कारबाहीका लागि चलान गर्ने व्यवस्था लागू गरिएमा यस्ता अनियमितता नियन्त्रणमा आउने विश्वास लिइएको छ ।

You might also like

Comments are closed.