काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालयलाई थप विस्तार र व्यवस्थित गर्ने उद्देश्यले ललितपुरको सानेपामा करिब १३ करोड रुपैयाँ बराबरको घर- जग्गा खरिद गर्ने सम्झौता गरेको छ। पार्टीले हालको केन्द्रीय कार्यालय परिसर अगाडि रहेको जग्गा खरिद गरेर सांगठनिक गतिविधिलाई थप सहज बनाउने योजना बनाएको हो।
शुक्रबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यालय भवन रहेको सानेपा परिसरलाई फराकिलो बनाउन १९ आना (१ रोपनी ३ आना ३ पैसा) जग्गा र त्यसमा बनेको तीनतले घर खरिद गर्ने निर्णय भएको जानकारी दिए। विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्यले कार्यालय अगाडिपट्टि रहेको १९ आना जग्गा र तीन तले घर खरिद गर्ने निर्णय गरिएको हो।
पार्टीका अनुसार उक्त घर(जग्गा खरिदका लागि अनुमानित लागत झण्डै १३ करोड रुपैयाँ लाग्नेछ। यो विस्तारसँगै पार्टीको कार्यक्षमता बढ्ने र भविष्यका कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गर्न सहज हुने विश्वास कांग्रेसले लिएको छ।
यसअघि पनि कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयलाई व्यवस्थित बनाउन विभिन्न संरचनात्मक सुधारका कामहरू गर्दै आएको थियो। यो नयाँ खरिद त्यसैको निरन्तरता हो।
Comments are closed.