दोहोरो अंकले घट्यो नेप्से, कुल २ अर्व ७३ करोडको करोबार

काठमाडौं । साताको तेस्रो दिन आज सेयर बजार परिसूचनक (नेप्से) दोहोरो अंकले घटेको छ । लामो समयपछि सोमवार ५६ अंकले बढेको सेयर बजार आज फेरि दोहोरो अंकले घटेको हो ।

आज सेयर बजार परिसूचक २४ दशमलव ८३ अंकले घटेर दुई हजार ४१ दशमलव शून्य ६ विन्दुमा झरेको छ । आज दुई सय २१ वटा कम्पनीको ६४ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ७३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ।

आज सबै समूहको सेयर घटेकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको चार करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज कारोबार भएकामध्ये १२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने, माथिल्लो हेवाखोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी १६९ कम्पनीको मूल्य घट्दा चार कम्पनीको मूल्य चाहिँ स्थिर रहेको छ।

आज युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यसको सेयर मूल्य ५ दशमलव ६२ प्रतिशतले घटेको छ। दोर्दीखोला जलविद्युत् कम्पनीको ५ दशमलव ५१, पञ्चकन्या माई जलविद्युत्‌को ५ दशमलव ४७ र जोशी जलविद्युत् विकास कम्पनीको ५ दशमलव ४६ प्रतिशतले मूल्य घटेको छ।

You might also like

Comments are closed.