२ दिन लगातार बढेको सेयर बजार आज ११.८१ अंकले घट्यो, २ अर्ब १५ करोडको कारोबार

काठमाडौं ।  नयाँ सरकारको आगमनसँगै दुई दिन लगातार बढेको सेयर बजार बुधबार भने घटेको छ । बुधबार नेप्से परिसूचक ११ दशमलव ८१ अंकले घटेको छ । आज नेप्से ११ दशमलव ८१ अंकले घटेर १९७२ दशमलव १५ विन्दुमा झरेर बन्द भएको छ ।

आज बजारमा २५७ कम्पनीका ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ३५ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ९ करोड ७० लाख र मंगलबार ३ अर्ब ८८ करोड ४३ लाखको कारोबार भएको थियो ।

बुधबार बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने फाइनान्स, हाइड्रोपावर, जीनव बीमा, म्युचुअल फन्ड, निर्जीवन बीमा समूह धनात्मक भएका छन् ।

आज सेन्ट्रल फाइनान्सको लि., प्रभू लाइफ इन्स्योरेन्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आधादर्जन कम्पनीको सेयर मूल्य ९ प्रतिशतमाथिले वृद्धि हुन पुगेको छ ।

तर यता महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले भने आज ५.२० प्रतिशतले गुमाउन पुगेका छन् ।

You might also like

Comments are closed.